
काठमाडौँ, माघ १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बनेसँगै बालेन शाहको राजनीतिक गतिविधि तीव्र भएको छ। माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुगेका थिए। त्यहाँ उनका समर्थक र पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरे।
जनकपुरधाममा आयोजित कार्यक्रममा बालेन र रवि लामिछाने सँगै मञ्चमा देखिए। पार्टीले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ। आठ जिल्लाबाट ठूलो जनसमूह उपस्थित भएको यस कार्यक्रममा बालेनको क्रेज निकै देखियो।
तर, रवि लामिछाने विभिन्न अदालत मुद्दाका कारण सार्वजनिक सभा र घरदैलोमा सहभागी हुन सकिरहेका छैनन्। काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सामा मुद्दा विचाराधीन रहेकाले उपसभापति डोलप्रसाद अर्यालले चुनावी कमाण्ड सम्हालेका छन्।
रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। पार्टीले सामाजिक लोकप्रियता भएका उम्मेदवारलाई प्राथमिकता दिएको जनाएको छ। नेताहरूका अनुसार रवि र बालेनको एउटै उद्देश्य पार्टीलाई बहुमत दिलाउनु हो।