घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा समायोजन गरी घटाएको छ। नेपाल आयल निगमले पुस १६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँबाट १२८ रुपैयाँ कायम गरेपछि यात्रुहरूलाई राहत दिन भाडा कम गरिएको हो।
नयाँ भाडा अनुसार, काठमाडौंबाट पर्वतीय उडानको न्यूनतम भाडा ४ हजार ६ सय रुपैयाँबाट घटाएर ४ हजार ३९० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, काठमाडौं–भद्रपुर उडानको भाडा ३ हजार ८४५ रुपैयाँ, काठमाडौं–विराटनगर उडानको ३ हजार ७५ रुपैयाँ र सबैभन्दा टाढाको धनगढीका लागि २ सय ६५ रुपैयाँ घटाएर ५ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ।










