News Portal

पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

३२२ पटक

काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य खुलेको छ। सरकारले २०७३ सालदेखि कुवेतमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको भए पनि बिचौलियाहरूले घुम्न जाने कागजात बनाएर महिलालाई घरेलु काममा लगाउने गरेको पाइएको हो।

अध्यागमन कार्यालयको रेकर्डअनुसार गत डिसेम्बर ५ मा गिरोहले ‘सेटिङ’ मिलाएर एक नेपाली महिलालाई कुवेत पठाएको देखिएको छ। ती महिलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमनको पर्यटक भिसा पेस गरेकी थिइन्। ओमन जान पर्यटक भिसा आवश्यक पर्ने भएकाले बिचौलियाहरूले यही सुविधाको दुरुपयोग गर्दै हिमालय एयरलाइन्सको सीधा उडानमार्फत महिलालाई कुवेत पुर्‍याएका हुन्।

विमानस्थल अध्यागमन कार्यालयका अनुसार काठमाडौँमा ओमनको भिसा देखाइए पनि कुवेत पुगेपछि अर्को भिसा प्रयोग गरिएको हुन सक्ने आशंका गरिएको छ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको निर्णयविपरीत घरेलु कामदार पठाएको पुष्टि भए संलग्न सबैलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेका छन्।

यसैबीच, कुवेत सरकारले पनि भिजिट भिसामा जाने नेपालीहरूमाथि कडाइ गर्दै आएको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानले कुवेत पठाइएका महिलाहरू श्रम तथा यौन शोषणमा पर्ने गरेको पुष्टि गरेको छ।

अर्कोतर्फ, पछिल्लो समय ओमनको भिसा प्रयोग गरेर महिलालाई चीनतर्फ तस्करी गर्ने गिरोहसमेत सक्रिय रहेको पाइएको छ। चीनमा बच्चा जन्माउन लगाएर कमिसन असुल्ने गतिविधि भइरहेको दाबी गरिएको छ। यही सन्दर्भमा काठमाडौँमा ‘म्यारिज ब्युरो’ सञ्चालन गरेको आरोपमा कात्तिक २९ गते चार जना चिनियाँ नागरिक पक्राउ परेका थिए। उनीहरूले आर्थिक रूपमा कमजोर नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराउने गरेको अनुसन्धानबाट खुलेको छ।

भिजिट तथा पर्यटक भिसाको नाममा सेटिङमार्फत रकम असुलिने गरेको तथ्य बाहिर आएपछि गृह मन्त्रालयले विदेश यात्रा सम्बन्धी मापदण्ड परिमार्जन गरेको छ। विवादित ६ बुँदे मापदण्ड खारेज गर्दै कात्तिक १३ गतेदेखि नयाँ मापदण्ड लागू गरिएको छ। नयाँ व्यवस्था अनुसार कम्तीमा ६ महिनाको वैध राहदानी, गन्तव्य देशको भिसा वा अन अराइभल भिसा, गन्तव्यसम्मको हवाई टिकट र भ्रमणको जिम्मेवारी स्वयंले लिने स्वघोषणा फारम अनिवार्य गरिएको छ।

अध्यागमन विभागको निष्कर्षअनुसार पुरानो मापदण्डकै कारण बिचौलियाहरूले चलखेल गर्दै मानव तस्करीको धन्दा सञ्चालन गरेका थिए। सम्बन्धित निकायले पर्यटक भिसाको दुरुपयोग रोक्न थप कडाइ गर्ने तयारी गरिरहेको जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...