News Portal

होसियार ! नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन

हिमाली संचार संवाददाता
४४४ पटक

काठमाडौँ – ट्याक्सी चालकको लापरवाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालेको छ ।

नियम उल्लङ्घन गर्ने ट्याक्सी चालकको अभिलेख राख्न शुरु गरिएको र पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सी चालक बढी छन् ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘मङ्सिर २० गतेदेखि ट्याक्सी चालकलाई कारवाही शुरु गरेका छौँ”, प्रवक्ता सापकोटाले भने, ‘पाँचपटक कारवाहीमा प¥यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।’

उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाइएको छ । पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ ।

लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लङ्घन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने सापकोटाले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारवाही थालिएको हो ।

उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने शर्त पाँच पटकभन्दा बढी उल्लङ्घन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र छ महीनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ । सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारवाही थालेको हो ।

अहिले दैनिकजसो करीब १०० सम्म ट्याक्सी चालक कारवाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको तथ्याङ्कमा आर्थिक वर्ष २०७०÷७१ मा चार हजारभन्दा बढी चालक कारवाहीमा परेका थिए । आव २०७४÷७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सी चालक कारवाहीमा परेका छन् ।

चालू आवको मङ्सिर २४ सम्ममा तीन हजार ३२० चालक कारवाहीमा परेको अभिलेखले विश्लेषण गर्दा चालकको लापरवाही बढिरहेको देखाउँछ । त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारवाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार काठमाडौँमा नौ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...