
काठमाडौं, साउन ५ – पोखराको लिची बगैंचाको बहुमूल्य सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य सेटिङ’ सार्वजनिक भएपछि, यो प्रकरणले राजनीतिक वृत्तदेखि आम जनमानससम्म व्यापक चासो र आक्रोश जन्माएको छ। यही अडियो सार्वजनिक भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निवर्तमान मन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ।
गत साता सार्वजनिक अडियोमा पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको जग्गा हत्याउन मालपोत कार्यालय र भूमि आयोगका कर्मचारीहरूलाई प्रभावमा पारिएको स्पष्ट सुनिन्छ। मन्त्री गुप्ताले सोही अडियो सार्वजनिक भएलगत्तै असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए। तर सोही प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी भने अझै पदमा टिकिरहेकै छन्। उनले आफूमाथि लागेको आरोपप्रति सफाइ दिँदै पत्रकार सम्मेलनको सहारा लिएका छन्।
तर सार्वजनिक अडियोमै मन्त्री अधिकारीले आफ्नै छोरामार्फत घुस लिएको दाबी गरिएको छ। साथै, तत्कालीन भूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेलले बिचौलियाको योजनाअनुसार काम गराइदिने सन्दर्भमा ५ लाख रुपैयाँ नगद र मदिरा बुझेको अडियो टेपमा स्पष्ट सुनिन्छ।
सूत्रका अनुसार, घुसको लेनदेन काठमाडौंको भैंसेपाटीस्थित मन्त्री निवासमै भएको आशंका गरिएको छ। त्यही संवादमा मन्त्री अधिकारीको समेत प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ, जसले उनलाई थप प्रश्नको घेरामा ल्याएको छ।
अख्तियारका एक उच्च अधिकारीका अनुसार, उक्त अडियो र अन्य प्रमाणहरूलाई आधार बनाएर विस्तृत अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणमा संलग्न व्यक्तिहरूलाई चरणबद्ध रूपमा बयानका लागि बोलाउने प्रक्रिया सुरु भइसकेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
