आज : २०२६-०७-०९, बिहीबार

पृथ्वी जयन्तीमा राप्रपाद्वारा एकता र्‍याली तथा चियापान कार्यक्रम

१९ पुस, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा दरबारमार्गस्थित महेन्द्र शालिकदेखि सिंहदरबार अगाडिको पृथ्वी शालिकसम्म राष्ट्रिय एकता र्‍याली आयोजना गर्ने भएको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका वरिष्ठ नेताहरू र्‍यालीमा सहभागी हुनेछन्। विभिन्न भेषभूषा र झाँकीसहितको र्‍यालीपछि पृथ्वी शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ।

सोही दिन राप्रपाले चियापान कार्यक्रम पनि आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेताहरू, विदेशी कूटनीतिक प्रतिनिधि, कलाकार, खेलाडी लगायतलाई निमन्त्रणा पठाइएको छ।

यसैगरी, पुस २५ गते राप्रपा सम्बद्ध प्राज्ञिक परिषद्ले “राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदान” विषयक विचार गोष्ठी आयोजना गर्नेछ।

सरकारले यस वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा घोषणा गरेको छ।