पत्रकार खाशोगी र राजकुमार मोहम्मद।
साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानले पत्रकार जमल खाशोगीको हत्या गर्न निर्देशन दिएको निष्कर्ष अमेरिकाको केन्द्रीय गुप्तचर संस्था सीआइएले निकालेको छ। साउदी अरेबियाका चर्चित पत्रकार खाशोगीको गत महिना टर्कीको इस्तानबुलमा हत्या भएको थियो।
साउदीका १५ जना एजेन्टको समूह गत अक्टोबरमा सरकारी विमानमा इस्तानबुल पुगेको र साउदी दूतावासभित्र पत्रकार खाशोगीको हत्या गरेको सीआइए स्रोतलाई उद्धृत गर्दै वासिङ्टनपोस्टले जनाएको छ। खाशोगी एक टर्किस महिलासँग विवाह गर्ने तयारीमा थिए र त्यसका लागि आवश्यक कागजपत्र लिन उनी इस्तानबुलस्थित दूतावासमा पुगेको समचारमा उल्लेख छ।
तर साउदी अरेबियाले भने खाशोगीको हत्यामा राज्य नियन्त्रित व्यक्तिको संलग्नता रहेको स्वीकार गरे पनि राजकुमारको संलग्नता अस्वीकार गर्दै आएको छ।
पत्रकार खाशोगीको हत्या साउदी राजकुमारको निर्देशनमा भएको निष्कर्ष निकाल्नुपूर्व सीआइएले गुप्तचरका सूचना, राजकुमार बिन सल्मानका भाइसमेत रहेका अमेरिकाका लागि साउदी राजदूत खालिद बिन सल्मान र खाशोगीबीच भएको टेलिफोन कुराकानी आदिको विश्लेषण गरेको आफ्नो गोप्य स्रोतलाई उल्लेख गर्दै पोस्ट्ले लेखेको छ। वासिङ्टन पोस्टका स्तम्भकारसमेत रहेका खाशोगीलाई खालिदले भनेका थिए कि आफ्नो कागजात लिन खशोगी साउदी दूतावासमा जानुपर्छ र उनले यो पनि आश्वासन दिएका थिए कि उनी त्यहाँ जाँदा सुरक्षित हुनेछन्, कुनै अप्ठ्यारो पर्ने छैन।
तर खालिदलाई खशोगी मारिँदैछन् भन्ने कुरा भने थाहा भए नभएको प्रष्ट छैन। सीआइएले यति भनेको छ कि उनले आफ्ना दाइको निर्देशनमा खाशोगीलाई फोन गरेका थिए।
तर खालिदले भने खाशोगीसँग फोन वार्ता भएको अस्वीकार गरेका छन्। खाशोगीसँग २०१७ मा एसएमएसमा कुरा भएको दाबी गर्दै उनले ट्विटरमा अमेरिकालाई उक्त दावी पुष्टि गर्ने सूचना सार्वजनिक गर्न भनेका छन्।
वासिङ्टनपोस्टले आफ्नो पूरा प्रतिक्रिया नछापेको भन्दै उनले दोस्रो ट्विट पनि गरेका छन्।
वासिङ्टनस्थित साउदी दूतावासका प्रवक्ता फातिमा बेसेनले सीआइएको दावी गलत भएको र घटनाबारे गरिएका अनेक अनुमानमध्ये एक भएको प्रतिक्रिया दिएकी छन्।
सीआइएका प्रवक्ताले भने औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेको समाचारमा उल्लेख छ।
यद्यपी अमेरिकी र टर्किस गुप्तचर एजेन्सीसँग अझै साउदी दूतावासमा भएको हत्यामा राजकुमार मोहम्मदको संलग्नताबारे स्पष्ट प्रमाण भने नरहेको अधिकारीहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ।
राजकुमार मोहम्मदले लिएका नीतिका कटु आलोचक खाशोगीको हत्याले ह्वाइटहाउसको विदेश नीतिमा संकट आएको तथा इरानविरुद्धको युद्ध र मध्यपूर्वका अन्य मुद्दामा साउदी अरेबियामाथिको अमेरिकी निर्भरताबारे प्रश्न उठेको समाचारमा जनाइएको छ।
गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी दूतावासमा छिरेका पत्रकार खाशोगी त्यहाँबाट फर्किएनन्। पछि उनलाई त्यहीँभित्र मारिएका समाचारहरू प्रकाशित भएपछि साउदी सरकारले उनी सकुशल फर्किएको दावी गर्दै आएको थियो। तर आलोचना तीब्र भएपछि मात्र साउदी सरकारले राज्यको नियन्त्रण भित्र उनको हत्या भएको स्वीकारेको थियो।