असार-२२, शनिबार/मोरङ – मोरङको रंगेली-३ स्थित वावुसाहेव टोलमा गत चैत्र ३ गते भएको आगलागी पिडित स्थानीयहरुको आवास निमार्णाका लागि नेकपा एमाले रङ्गेली नगर कमिटीद्वारा एक कार्यक्रमको आयोजना गर्दै नगद हस्तान्तरण गरेका छन्।
आयोजित कार्यक्रममा रङ्गेलीका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, वडाअध्यक्ष भरत प्रसाई, विभिन्न वडाका वडाअध्यक्षहरु, नेकपा एमालेका प्रदेश कमिटी सदस्य मनोज अग्रवाल, मोरङ जिल्ला उपसचिव संतोष साह, जिल्ला कमिटी सचिवालय सदस्य रंगेली इंचार्ज इर्जालाल राजवंशी, जिल्ला सदस्य जीतलाल मण्डल, नगरअध्यक्ष दलबहादुर बस्नेत, हरि उप्रेती, पुनम सापकोटा लगायतको सहभागिता रहेको थियो ।
मेयर बगडियालाई नगद ३ लाख ६५ हजार ३ सय ४० रुपैयाँ हस्तान्तरण गरेका थिए। उनीहरूले अग्नि पिडित परिवारको घर निर्माणका लागि सो रकम दिएको मनोज अग्रवालले बताए ।
केही महिना अगाडि रंगेलीका मेयर बगडियाले अग्नि पीडित परिवारहरूलाई असार भित्रमा घरमा प्रवेश गराउने भनिएता पनि प्रदेश सरकारको बजेट अभावका कारणले आफूहरुले समयमै अग्निपिडित परिवारहरूलाई नयाँ घरमा प्रवेश गराउन नसकेको स्वीकार गरेका छन । उनले असोज महिना भित्रमा नयाँ घरमा प्रवेश गराउने प्रतिबद्धता समेत जनाएका छन् ।
अहिले उक्त स्थानमा २२ घरपरिवारको घर गर्नेमा कार्य अगाडि बढिरहेको छ। अहिलेसम्म पाँचवटा घरमा टिनको छानो र अन्य काम भने धमाधम भइरहेको र बाँकीकाम समेत अगाडि बढीरहेको र ५ वटा स्थानको घरको काम धमाधम भइरहेको र टिनको छानो काम भइरहेको समेत जनाएका छन ।
घर निर्माणकार्यका लागि संघीय सरकारबाट ३ लाख ५५ हजार, प्रदेशबाट ३० प्रतिशत र स्थानीय स्तरबाट १५ प्रतिशत रकम प्राप्त भएको छ। प्रतिघर ६ लाख ५५ हजार रुपैयाँ बराबरबाट घर निर्माणकार्य भईरहेको छ ।
उक्त घर निर्माणका लागि हेमिडेन्स संस्था, लुथरन समाज लगायत अन्य संघसंस्थाको सहयोगमा दुई कोठा, एउटा किचन र टुवेल सहित घर निर्माण कार्य हुने भएको छ। घर निर्माणका लागि अग्नि पीडितका महिलाहरूलाई उपभोक्ता समिति समेत गठनमा दुई समूहमा बिभाजन गरेर उपभोक्ता समिति गठनमार्फत घर निर्माणकार्य भइरहेको नगरपालिकाले जनाएको छ।