धरान – नेपाल फोटो पत्रकार महासंघ सुनसरीले तिहारमा आयोजना गरेको देउसी-भौले खेलेर संकलन गरेको रकम मध्ये सडक दुर्घटनामा घाइते भएका चालक सोम राईको उपचारका लागि नगद रु. १५ हजार सहयोग गरिएको छ।
सडक दुर्घटनामा स्पाइनलकर्ड इन्ज्युरी भइ उपचाररत भएका बसका चालक राईको औषधि उपचार गर्न ठुलो समस्या भईरहेको अबस्थामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान चलाइरहेको जानकारी प्राप्त भएपछि संगठनको सोही अभियानमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीले नगद सहयोग गरेको हो ।
गत मंगलबार महासंघका अध्यक्ष विकास चाम्लिङ राईले संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राईलाई उक्त नगद हस्तान्तरण गरेका हुन् । बसका चालक सोम राईकी श्रीमती सकुन राईको उपस्थितिमा उक्त आर्थिक रकम हस्तान्तरण गरिएको महासंघका अध्यक्ष राईले हिमालीसंचारडटकमसंग बताए।
आर्थिक रकम हस्तान्तरण पछि पत्रकार चाम्लिङले प्रत्येक वर्ष देउसी-भौलो खेलेर संकलन भएको रकमबाट सामाजिक कार्य गर्दै आइरहेकामा यो बर्ष मजदुर नेता भीमज्वाला राईले चालकको उपचारमा सहयोग गर्न आग्रह गर्नु भएकाले संकलित रकम मध्येबाट १५ हजार आर्थिक सहयोग गरेको बताए ।
उक्त आर्थिक सहयोग रकम ग्रहण गर्दै संगठनका अध्यक्ष भीमज्वाला राईले बसका चालकको उपचार बापतको रकम नगद रु. १ लाख ५१ हजार ९ सय बाँकी रहेको समेत बताए ।
अध्यक्ष राईका अनुसार हामीले मजदुर, व्यवसायीबाट ३७ हजार संकलन गरेको र त्यसमा फोटो पत्रकार महासंघ सुनसरीको सहयोगपछि करिव ५२ हजार रकम जम्मा भएको समेत जानकारी दिए। आवश्यक थप रकम समेत यसरी नै जुटाउने बताएका अध्यक्ष राईले आर्थिक सहयोगका लागि फोटा पत्रकार महासंघ सुनसरीलाई धन्यवाद दिए ।
आर्थिक रकम हस्तान्त्रण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेशका सचिव देवेन्द्र कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई, जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवा, फोटो पत्रकार महासंघ सुनसरी सचिव शीशीर राईको समेत उपस्थिति रहेको थियो ।