आज : २०२६-०७-२३, बिहीबार

हङकङमा भारी वर्षाको कारण जनजीवन प्रभावित

हङकङ, ९ सेप्टेम्बर। हङकङमा विहीवार साँझदेखि लगातार परेको भारी वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ।

वर्षाको प्रभाव साँझ ६ बजेसम्म रहनसक्ने मौसम विभागले जनाएको छ। हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार वर्षाका प्रमुख बस सेवा, फेरी सेवा लगायतका सार्वजनिक सेवा बन्द छन्।

मौसम विभागले बिहीबार रातिदेखि नै मानिसहरूलाई घरभित्रै बस्न, बाहिर ननिस्कन तथा नदी नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको थियो।

हङकङमा २७/२८ वर्षदेखि बसोबास गर्दै आएका नरजित राई आफू हङकङ आएदेखि नै यस्तो वर्षा कहिल्यै नेदेखेको बताउँछन्।

राई भन्छन्, ‘मैले अघिल्लै दिन कामबाट छुट्टी लिएर शुक्रबारलाई हङकङ आई हस्पिटलमा आँखा जँचाउनका लागि अपोइन्टमेन्ट लिएका थिएँ। तर, बिहीबार रातिदेखि यति ठूलो पानी पर्‍यो कि मैले अहिलेसम्म देखेकै थिइनँ।’

उनी थप्छन्, ‘तैपनि बिहान अस्पताल जानको लागि निस्किएँ। सडकमा खोलामा झैं पानी बगिरहेको थियो। निकै कोसिस गर्दा पनि अगाडि बढ्न सकिनँ अनि अपोइन्टमेन्ट जेसुकै होस् भनी घर फर्किएँ।’

उनी बसेको स्थानबाट अस्पताल पुग्न आधा घण्टा मात्र समय लाग्दछ। राईले आफ्नो फेसबुकमा पनि यो कुरा शेयर गरेका छन्। शुक्रबार दिउँसो नेपालखबरले उनलाई पछिल्लो अवस्था के छ भनी जिज्ञासा राखेको थियो।

‘ब्ल्याक रेन चलिरहेको तर अहिले केही कम भएको’ बताउने उनी त्यतिखेर अस्पताल पुगेर फर्कंदै थिए। तर, ब्ल्याक रेनका कारण अस्पताल बन्द थियो।

‘अस्पताल मात्र होइन, अहिले यहाँ मिनिबस, डबल डेकोर बस, फेरी सेवा पनि चलेको छैन। तर, बाढी भने केही कम भएको छ,’ त्यतिखेर काउलुन सिटीमा रहेका उनी बताउँछन्। बस लगायत सेवा बन्द रहे पनि ट्रेन भने चलिरहेको छ।

हङकङमा वर्षालाई तीन तहमा वर्गीकरण गरिन्छ– एलो, रेड र ब्ल्याक रेन। यी मध्ये तेस्रो प्रकारको वर्षा एकदम शक्तिशाली हुने र बाढी पहिरोको जोखिम अधिक हुने हुँदा बासिन्दालाई घर बाहिर ननिस्कन चेतावनी दिइने गरिन्छ।

शुक्रबारको ब्ल्याक रेनका कारण तेङचुइ, ताकु लिङ, चाताउ कोक लगायत क्षेत्र बढी प्रभावित भएको अब्जर्भेटरीले बताएको छ।

अकस्मात् ठूलो प्राकृतिक विपत् बेहोर्न पुगेपछि हङकङ सरकारले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी वर्तमान परिस्थितिको छलफलमा जुटेको छ।