News Portal

जायजेथा स्कुललाई दान गरेर झुपडीमा गुजारा गरिरहेकी ‘पियारी आमा’

हिमालीसंचार संवाददाता
३९२ पटक

त्रिवेणी। खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले त पढ्न पाइनँ, अब अरुले पढ्न पाउन्।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका-४ मा पियारीको बसोबास छ। उमेरले ९६ वर्ष पुगेकी उनलाई सम्मानले बोलाउने नाम बनेको छ ‘पियारी आमा’। पियारी आमाको घर सानो भएपनि मन भने ठूलो छ। उनले आफूसँग भएको सबै सम्पत्ति विद्यालयलाई हस्तान्तरण गरिन्।

पियारी आमाले कावासोती-४ स्थित सरस्वती माविलाई आफ्नो नाममा रहेको सबै आठ कठ्ठा जग्गा दान गरेकी छन्। निःसन्तान उनी श्रीमान्‌को मृत्यु भएपछि एक्लै बस्दै आएकी छन्। पियारी आमाको साथी भने पनि साक्षी भने पनि एक कोठासहित सानो खरले छाएको घरमात्रै छ।

विद्यालयलाई दिएको जग्गामै उनको घर छ। खेतमा हुने सबै उब्जनी विद्यालयलाई दिने दिने गरेकी छन्।

‘मैले दान दिएकी हुँ, दान दिएको फेरि आफूले लिनहुन्न। त्यसैले यहाँ जे-जे लगाउँछु पछि विद्यालयलाई लगेर बुझाउने गरेको छु’, उनी सुनाउँछिन्।

पियारी आमाले आफूसँग भएको जग्गामात्रै होइन, उनका श्रीमान् भारतीय सेनाबाट निवृत्त भएकाले आउने पेन्सनसमेत अरुलाई सहयोग गर्दै आएकी छन्। विशेषगरी विद्यालयलाई दान दिनमै उनको रुचि छ।

पियारी आमाले विद्यालयमा विभिन्न समयमा आफूसँग भएको पैसा ल्याएर दिने गरेको सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील पौडेल बताउँछन्।

‘अरूलाई सहयोग गरौँ भन्ने उहाँको भावना छ, विद्यालयमा बेला-बेलामा सहयोग प्रदान गर्नुभएको छ’, पौडेल भन्छन्।

अरुबाट केही आश नगर्ने, केही लिन नखोज्ने तर आफूले भने सहयोग गर्ने स्वभाव पियारीलाई शिक्षा क्षेत्रमा आफूसँग भएको सबै रकम दान गरेकाले विद्यालयले पियारी आमालाई सर्वस्वदाताका रूपमा सम्मानसमेत गरेको छ।

शिक्षाको विकासका लागि निस्वार्थ भावमा आफ्नो सबै जायजेथा दान गरेकाले उहाँको सम्मानमा अहिले पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागिएको छ। पियारी आमाको घरछेउमा स्मृतिस्तम्भ निर्माण गर्न लागिएको कावासोती नगरपालिका शिक्षा शाखा प्रमुख क्षेत्रबहादुर भण्डारीले बताए।

‘शिक्षाको विकासमा विनास्वार्थ पियारी आमाले गरेको दान ठूलो छ, हामीले दाताको हौसला बढाउनुपर्छ, यसैले सम्मानस्वरुप पियारी गुरुङ स्तम्भ निर्माण गर्न लागेका हौँ’, उनले भने। – रासस

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...