धरान – धरान उपमहानगरपालिका धरानले आगामी मंगलबारदेखि सवारी व्यवस्थित गर्न तीन पांग्रे ई–रिक्सा दर्ता प्रक्रिया अघि बढाउने भएको छ ।
नगरले धरानमा संचालित तीन पांग्रे “ई रिक्सा” सम्बन्धी कार्यविधि २०७९ राजपत्रमा समेत प्रकाशित गरिसकेको अबस्थामा कार्यविधि वनाई नगरभित्र संचालित ई- रिक्सालाई व्यवस्थित गर्न लागेको हो। सोही कार्यविधिमा भएको व्यवस्थाबारे छलफल गर्न र ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउन आइतबार धरान उपमहागनरपालिका धरानले सरोकारवालाहरुसँग बैठक बसेको थियो । उक्त बैठकले मंगलबारदेखि ई-रिक्सा दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको अनुमगन अधिकृत वेदराज सापकोटाले जानकारी दिए ।
बैठकमा सहभागी ई-रिक्सा ‘सिटी सफारी’ चालकहरुले कार्यविधिमा राखिएको सफारी दर्ताको लागि सवारी चालक अनुमती पत्र लिनु पर्ने छ भन्ने प्रावधानले चालकहरुलाई मारमा पर्ने बताए ।
यस्तै, एक लाइसेन्सले एउटा मात्र ई रिक्सा दर्ता गर्न सकिने भन्ने व्यवस्थाले पनि समस्या हुने चालकहरुको भनाई रहेको छ । उनीहरुले यो प्रावधान संशोधन गर्न र ई-रिक्साको अनुमति पत्र पनि धरानबाटै दिने व्यवस्था गर्न माग गरेका छन्।
बैठकमा मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतको सहभागितामा उक्त निर्णय गरिएको हो । मेयर साम्पाङले कार्यविधिमा भएको प्रावधानमा समस्या भए कार्यपालिका बैठकबाट संशोधन गर्न सकिने बताए। मेयरले अनुमति पत्र लिने कार्यालय धरानमा स्थापना गर्न आफ्नो पनि माग रहेको र निरन्तर पहल गर्ने बताएका छन् ।