काठमाडौं – मुन्दुम हजारौ वर्षअघि किराती पुर्खाहरुमा जब चेतनाको विकास हुने क्रममा यो श्रृष्टि, यो संसार, यो प्रकृतिसंगको सामिप्यता संगै प्रकृतिमा रहेका चराचर प्राणी जगत, साह्रा पशुपंक्षी, चराचुरुङ्गी, वनस्पती, प्रकृतिमा रहेका हिमाल पहाड, ढुङ्गा माटो, वन–जंगल, नदि खोला–नाला, ताल तलैयाहरु, प्रकृतिमा रहेका हरेक कुराहरुसंगको अनुभव, भोगाईहरुबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै गए।
यसरी प्राप्त व्यवहारिक ज्ञान पुस्तौपुस्तादेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदै आईरहेको चेतनाको विकासको चरणहरुको सिंगो सार, ती हरेक वस्तुहरुप्रतिको दार्शनिक चिन्तन, विश्व दृष्टिकोण तथा व्यवहारिक ज्ञानको समुचित सार नै मुन्दुम हो।
मुन्दुम मौखिक तथा श्रुति परम्परामा आधारित छ । मुन्दुम किराती समाज÷समुदायमा विभिन्न मिथकहरुको संग्रह, कथा, होप्माछाम, गीत तथा मुन्धुमी सांस्कृतिक नायकहरु मुन्धुमी, तायामी, नछुङ, नाक्छो, नाक्छुङ, माङ्पा, कुबी, नागिरे, जानपा, मावी, ज्वाम्चो, पासिङ, दोवा, वाटाङ्पा, बुङटोमी, सुक्सङ्मी, बुङपेन्मी, राहाङ्मी, बाखमी, फेदाङमा, येबा, येमा, देवारी, तुम्साबङ्ग, धामी बिजुवाहरुले गाऊने रिसिया, होप्माछाम (मन्त्रहरु)को स्वरुपमा एक पुस्तादेखि अर्को पुस्तामा पुस्तौपुस्तासम्म पुस्तान्तरण हुदै आईरहेको छ ।
मुन्धुम अनुसार साल्पा सिलिचोङ नै श्रृष्टिको उत्पत्ति केन्द्र तथा मुन्धुमको उत्पत्ति केन्द्र रहेको जनविश्वास रहेको छ। मुन्धुम अनुसार यो धर्तीमा (हेन्खामा)मा सर्वप्रथम श्रृष्टिकर्ताहरु सुम्निमा-पारुहाङ यहि सिलिचोङमा नै पहिलो भेट भएको कारणले सिलिचोङलाई पारुखामको रुपमा जनविश्वास रहेको छ ।
त्यस्तै, मुन्दुमा किरातीहरुको आदिम पुर्खाहरु रिकापा–रिभ्यामा, साल्पाहाङ–रिब्रिहाङमा÷रिब्रिमा (साल्पा राजा र साल्पा रानी) जस्ता आदिम किराती पुर्खाहरुको साल्पा सिलिचोङ नै आदिमथलो तथा बासस्थान रहेको मुन्दुमी जनविश्वास रहेको छ।
किरातीहरुको पवित्र मुन्धुम स्थल सिलिचोङ मुन्धुमी साया (शिर) सुम्दिमा–पारुहाङको बासस्थान हो। किरात राईहरुको भाषामा सिलिचोङको शाब्दिक अर्थ सिली भनेको (साकेला सिली, नछुङ माङ्पाहरुले नाच्ने विभिन्न सिलीहरु झै सिली=नाच र चोङ=डाडा÷चुचुरा भन्ने शाब्दिक अर्थ राख्दछ। यस पवित्र मुन्दुमी स्थल सिलिचोङ आदिमकालमा नछुङ–माङ्पा धामी बिजुवाहरुले आफ्ना गुरु बस्ने स्थान र आध्यात्मिक रुपमा सिली नाच्ने स्थलको रुपमा लिने गरिन्छ।
त्यसैले किरातीहरुको सांस्कृतिक नायकहरु, मुन्दुमी नछुङ, माङ्पा, नागिरे, कुबी, ज्वाम्चो, मावी, दोवा, पासिङ, वाटाङ्पा, बुङ्पेन्मी, धामी बिजुवाहरु यारीचुरी माङमिछामा चिन्ता बस्दा मुन्धुमी शक्तिले सुप्तुलुंङ तीन चुलाबाट सुरुवात गरेर खुवालुङ हुदै साल्पा सिलिचोङसम्मको रिचुवल यात्रा गर्देछन् ।
किरातीहरुको सांस्कृतिक नायकहरु, मुन्दुमी नछुङ, माङ्पा, धामी बिजुवाहरु वर्षेनी कार्तिक पुर्णिमा, बैशाख पुर्णिमा र भदौरे पुर्णिमामा (Ritual Journey, Spiritual Jorney) रिचुवल यात्रा, स्पिरिचुवल यात्रामा र मुन्धुमी शक्ति नविकरण गर्नको लागि मुन्धुमी यात्राको निमित्त साल्पा–सिलिचोङ जाने गर्दछन्।
यस अर्थमा (साल्पासिलिचोङ) किरातीहरुको निमित्त हिन्दुहरुको मानसरोवर ताल र कैलाश पर्वत, क्रिस्चियनहरुको जेरुसेलम, मुस्लिमहरुको मक्का–मदिना, बुद्धिस्टहरुको लुम्बिनी भने जस्तै र त्यतिकै महत्वपुर्ण पवित्र मुन्धुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल किरात सांस्कृतिक सम्पदा हो।
यस साल्पा पोखरी र सिलिचोङ भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभा जिल्लाको सिमाक्षेत्रमा अबस्थित भोजपुर जिल्लाको साल्पा सिलिछो गाउँपालिका दोभाने गाबिसको वडा नम्बर-५ अन्तर्गत पर्दछ । यो क्षेत्र भोजपुर, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको संगम स्थल हो। साल्पा पोखरीको उचाई समुन्द्री सतहदेखि ३७५० मिटरको उचाइमा रहेको साल्पा पोखरी र सिलिचोङ समुन्द्री सतहदेखि ४१५५ मिटरको उचाइमा रहेको छ ।
साल्पा पोखरीको अक्षांश २७.४४६ डिग्री उत्तर र देशान्तर ८६.९३४ डिग्री पुर्व रहेको छ । यहाँबाट भोजपुर, संखुवासभा, धनकुटा, तेर्हथुम ताप्लेजुंग, खोटाङ, सोलुखुम्बु, ओखालढुंगा जिल्लाको थुप्रै गाउँघरका डाडाहरु देख्न सकिन्छ । यहाँबाट मकालु, कञ्चनजंधा, चोमोलुङ्मा÷सगरमाथा हिमाल देख्न सकिन्छ।
साल्पा सिलिचोङ वरपरका क्षेत्र भोजपुर, खोटाङ, सोलुखुम्बु, संखुवासभा लगायत क्षेत्रमा बिशेष गरेर कुलुङ, बान्तावा, चाम्लिङ, साम्पाङ, कोयी, खालिङ, दुमी, मेवाहाङ, याम्फु, थुलुङ लगायत अन्य विभिन्न भाषिक राईहरुको सघन बसोबास रहेको छ ।
साल्पा सिलिचोङ छेत्रमा भूगर्भशास्त्री, पुरातात्वविदमानवशास्त्री, समाजशास्त्री, इतिहासविदहरुले गहन रुपमा पुरातात्विक खोज तथा अध्ययन अनुसन्धान गर्ने हो भने किरातीहरुको प्राग ऐतिहासिककालको इतिहास, प्राचिन किरात सभ्यताकालीन ऐतिहासिक तथ्य प्रमाणहरु प्राप्त गर्न सकिने सम्भावनाहरु रहेको छ ।
किरातीहरुको मुन्दुमी मिथक अनुसार सृष्टिको उत्पत्ती सम्बन्धित सुम्निमा-पारुहाङ र साल्पा सिलिचोङको इतिहास, मिथक यो सृष्टिको उत्पत्तीकालमा यो संसार पानी नै पानीले ढाकेको जलाम्य महासागर थियो। यो सृष्टिलाई सुन्दर बनाउन थुप्रै जीव जीवात्माको परिकल्पना माङले गर्नुभयो। त्यसको लागि सृष्टिकर्ता माङले जमिनको आवश्यक रहेको ठान्नु भयो । सृष्टिकर्ता माङले ३ वटा पिपलको पातको उत्पत्ति गराऊनु भयो। एउटा पिपलको पातले जलाम्य धर्तीलाई छोपिदिनु भयो, अर्को पिपलको पातले शिरमाथी पार्नुभयो र आकाशको उत्पत्ति गराउनु भयो। त्यस्तै अर्को पिपलको पात घोप्टो पारेर धर्तीमा राखिदिनु भयो। त्यहि घोप्टो पारेको पिपलको पातले पानीलाई छोपिदिए पछि त्यहाँ बिस्तारै जमिन बन्दै गयो। त्यस घोप्टो पारेको पातमुनी बिस्तारै माटो बन्दै गरेको माटोलाई (बोबोयोङ्मा) धमिराले उधिनेर माटोको उत्पत्ती गराए।
यसरी धमिरा (बोबोयोङ्मा)ले माटो थुपार्दै जादा कालान्तरमा धर्तीमा (माटो र पानी) जल र जमिन बराबरी हुन पुग्यो। त्यसरी जल र जमिनको उत्पत्ति भएपछि नै यो धर्तीमा विभिन्न जीव जिवात्माहरु प्राणी जगतलाई बाच्न योग्य जमिन बन्दै गयो। त्यसरी विभिन्न जीव जिवात्माहरुको उत्पत्ती गराएपछि मात्र मानवको उत्पत्ति गराउने विचार गर्नुभयो।
त्यसपछि नेवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको सृष्टि गर्नुभयो। त्यसपछि निवाहाङ निनाम्मा र हितुहाङ निनाम्माको कोखबाट सुम्निमा चेली र पारुहाङ माईतीको जन्म भयो। सुम्निमा र पारुहाङ हुर्किन्दै बढ्दै जानुभयो। तर, यो सृष्टिलाई निरन्तरता दिनको लागि स्त्री र पुरुषको समागमन हुन अनिवार्य आवश्यक थियो। त्यसकारणले सृष्टिलाई निरन्तरता दिनकै लागि सुम्निमाले आफ्नो माईती पारुहाङसंग बिवाह गर्ने निर्णय गर्नुभयो। तर, पारुहाङले भने आफ्नै चेलीसंग विवाह गर्न अनुचित मात्र होईन अपराध नै हुने ठान्नुभयो। आफ्नी चेली सुम्निमाले आफुसंग बिवाह गर्न लागेको र आफुलाई आफ्नै चेलीसंग बिवाह गर्न मन्जुर नभएको कारणले सुम्निमाले नभेट्ने ठाँऊ साल्पा पोखरी तिर गई आलप हुनुभयो।
सुम्निमाले जसरी पनि सृष्टिलाई निरन्तरता दिनको लागि पारुहाङलाई खोज्न थाल्नुभयो। सुम्निमाले सर्वप्रथम पारुहाङलाई खोज्नको लागि टाङटुमी (चाँदे)चराको उत्पत्ति गराउनु भयो। सुम्निमाले (टाङटुङ्मी)लाई पारुहाङलाई जसरी पनी खोजेर ल्याउन भनेर पठाईन्। टाङटुङ्मीले साह्रा संसार खोजे तर पनि पारुहाङलाई भेट्न सकेनन्।
अन्तमा टाङटुमीले पारुहाङ साल्पा पोखरी भित्र ध्यान गरेर बसेरहेको छ भन्ने कुरा पत्ता लगाए। टाङटुङ्मीले अदुवा काटेर यारी गर्दै, मुन्दुम गाँउदैं शिली नाच्दै साल्पा पोखरी वरीपरी परिक्रमा लगायो। तर, पारुहाङ साल्पा पोखरीबीट निस्किएनन्। टाङटुङ्मीले त्यतिबेला यारी गर्दा आफ्नो टाउको नै एकपाटो छिनाई पठाए। त्यसैले आजपनि चाँदे चराको टाउको एकपाटे रहेको हो भन्ने मान्यता रहेको छ।
पारुहाङ साल्पा पोखरी भित्र रहेको कुरा टाङटुङ्मीले पत्ता त लगायो। तर, पारुहाङलाई ल्याउन भने सकेनन्। त्यसपछि टाङटुङ्मी सुम्निमा भएको ठाँउमा फर्केर गयो र सुम्निमालाई पारुहाङ साल्पा पोखरी भित्र रहेको तर फर्काउन नसकेको कुरा बेलिविस्तार लगायो। त्यसपछि फेरी सुम्निमाले झेतुवा(धोवी) चराको उत्पत्ति गराउनु भयो र पारुहाङ खोजेर ल्याउन भनेर पठाउनु भयो। झेतुवा (धोवी)चराले पारुहाङलाई खोज्दै साह्रा संसार नै डुल्यो। तर, कहिकतै पारुहाङलाई भेट्टाउन सकेन्।
अन्तमा पारुहाङलाई झेतुवाले साल्पा पोखरी भित्रै रहेको भन्ने कुरा पत्ता लगायो। झेतुवा चराले पनि मुन्दुम गाउदैं शिलि नाच्दै यारी गर्दै सोलोन्वा (चिण्डो) बोकेर साल्पा पोखरी वरीपरी परिक्रमा लगाए तर, पनी पारुहाङ पोखोरीबाट निस्किएनन्। त्यसपछि झेतुवा चरा पनि फर्किएर गयो र पारुहाङ साल्पा पोखरीमा रहेको तर फर्काउन नसकेको कुरा वृतान्त सुम्निमालाई बतायो।
त्यसपछि सुम्निमाले फेरी (तुईरा) चराको उत्पत्ति गराउनु भयो र पारुहाङको खोजीमा पठाउनु भयो । तुईरा चराले पनि पारुहाङको खोजीमा साह्रा संसार चाह्रायो र अन्तमा पारुहाङलाई साल्पा पोखरीमा रहेको पत्ता लगायो। तर, तुईरा चराले पनि पारुहाङलाई फर्काउन सकेन् । त्यसपछि फेरी सुम्निमाले माक्वा(कलचुडो चरा), चेञ्चेवा (पदुवा चरा) र तयामा खियामा चराको उत्पत्ति गराउनु भयो। र, पारुहाङलाई खोज्न पालैपालो पठाउनु भयो।
उनीहरुले पनि अदुवा काट्दै यारी गर्दै चिण्डो बोकेर मुन्दुम फलाक्दैं शिली नाच्दै पारुहाङलाई खोज्न निस्किए। उनीहरुले पनि अरुले चराहरुले जस्तै पारुहाङलाई साल्पा पोखरीमा रहेको पत्ता लगाए। तर, पारुहाङलाई फर्काउन सकेनन् । त्यसरी कसैले पनि पारुहाङलाई फर्काउन नसकेपछि, कसले चाहि पारुहाङलाई खोजेर ल्याउन सक्दछ भनेर सोच्न थाल्नु भयो।
त्यसपछि सुम्निमाले पानी मुनी पस्न सक्ने बाजीकुहाङ (गंगटा)को उत्पत्ति गराउनु भयो । सुम्निमाले सबै चराहरुलाई बोलाएर भेला पार्नुभयो र तिमीहरु सबै बाजीकुहाङसंग साल्पा पोखरी जानु र मुन्दुम गाउदैं, शिली नाच्दै यारी गर्दै चिण्डो बोकेर साल्पा पोखरी परिक्रमा लगाउनु, त्यसपछि पनि पारुहाङ ननिस्किए बाजीकुहाङ आफै साल्पा पोखरी भित्र पसेर पारुहाङलाई निकाल्ने छ है भनेर सबैलाई अह्राउनु भयो।
त्यसपछि सबै चराहरु सुम्निमाले भने बमोजिम बाजीकुहाङ संगै साल्पा पोखरी तिर लागे । सबै चराहरुले मुन्दुम गाँउदैं, शिली नाच्दै, यारी गर्दै चिण्डो बोकेर साल्पा पोखरी वरीपरी परिक्रमा लगाउन थाले। तर, पनि पारुहाङ निस्किनु भएन । त्यसपछि बाजीकुहाङले पनि पारुहाङ साल्पा पोखरी भित्र नै रहेको ठह्याई साल्पा पोखरीभित्र आफै पसेर पारुहाङको जीउमा काउकुति लगाई दिए। बाजिकुहाङले लगाएको काउकुतिले पारुहाङ व्युझिनु भयो ।
कसैले पनि पत्ता लगाउन नसक्ने ठाँउमा आफु गुप्तवास बसेको कारणले आफुलाई व्युझाउनुको कारण बाजीकुहाङ र चराहरुलाई सोध्नुभयो।
बाजीकुहाङ र चराहरुले एकै स्वरमा सुम्निमाले हजुरको अत्यन्तै चाहाना गर्नु भएकोले हजुरलाई लिन आएका हौ भने। सुम्निमाले आफुसंग विबाह गर्न चाहेकोले त्यसो गरेको हो भन्ने कुरा पारुहाङले थाहा पाईहाले । तर, चेली र माईती बिचमा प्रत्यक्ष रुपमा विवाह गर्न नहुने ठहर गरेर पारुहाङले आफ्नो विर्य कर्कलाको पातमा पोको पारेर बाजीकुहाङको हातबाट पठाई सुम्निमालाई अहिले भेट्न नसक्ने सन्देश पठाउनु भयो ।
यता पारुहाङलाई लिन पठाएको टोली पारुहाङ बिना नै फर्किएर आईपुगेको देखेर सुम्निमाले सबैलाई सोध्नु भयो।खोई त पारुहाङलाई ल्याएनउ त ? उनीहरु सबैले विवसता देखाउदैं भने हामीले पारुहाङलाई फर्काउन सकेनौ तर सुम्निमाको लागि पारुहाङले विशेष प्रकारको ओखती पठाईदिएको जानकारी गराए।
पारुहाङले पठाएको उक्त विर्यलाई ओखती ठानेर सुम्निमाले खानुभयो। विर्य खाएपछि सुम्निमाको पेटमा गर्भ रहयो । विर्य खाएपछि सुम्निमाको पेटमा गर्भ रहयो । यसरी पारुहाङको गर्भ सुम्निमाको पेटमा बढ्दै गयो र सुम्निमाले आफ्नो कोखबाट जेठा (चाप्चा) बाघ, माईला (तुमुन) भालु र कान्छा हाङ्छा(मान्छे) को जन्म भयो । आमा सु्म्निमाको रेखदेखमा ३ भाई चाप्चा, तुमुन र हाङ्छा हुर्कन्दै बढ्दै गए। सुम्निमाले हुर्किएका आफ्नो ३ भाई छोराहरुलाई शिकार खेल्न पठाउनु थाल्नुभयो । जेठा चाप्चाले बँदेल मृग जस्ता ठुला शिकार गरेर ल्याउन थाल्यो ।
माईला तुमुनले तरुल तुलफुल र गिठा भ्याकुर ल्याऊन थाल्यो र हाङ्छा (मान्छे)ले धनुषवाणले शिकार गरेर मृग, जरायो, खरायो जस्ता शिकार ल्याउन थाल्यो । सुम्निमाले तिनै भाईले ल्याएको शिकारहरुलाई एउटै वादेनखोक (अण्डा बाहिरी खोल) को भाँडोमा पकाउ थिईन। र, तीनै भाई छोराहरुलाई बाडेर दिनुहुन्थियो । एउटै भाँडोमा तिनै भाईको धेरै शिकारहरु बेग्ला बेग्लै स्वादको हुन्थियो । यसरी तीनै भाई नै शिकार खेल्न जाने र ल्याएको शिकार बाँडेर खान थाले । सुम्निमाले शिकार खेल्न जाने बेला तीनै भाईलाई नै भनेर एकैठाँउमा खाजा पठाईदिन्थिईन । सुम्निमाले तीनै भाईलाई शिकार खेल्दै जादा थाकिन्छ, थाकेपछि एकै ठाँउमा भेला हुनु। खाजा बाँडेर खानु। र, त्यसपछि फेरी शिकार खेल्नु भनेर अरह्राउनु भयो । आमाले भने बमोजिम नै तीन भाईले शिकार खेल्ने र खाजा बाँडेर खान थाले । तर, केहि दिनपछि चाप्चाले आफ्नो भाईहरुलाई पाप चिताउन थाल्यो । यताउती शिकार खेलेजस्तो गरेर राखिएको सबैको खाजा आफैले मात्र खाएर सिध्याउन थाले । तुमुन र हाङछा शिकार खेलेर खाजा खान आउदा। खाजा अरु कसैले नै खाईसकेर सकिएको हुन्थियो । खाजा के ले खादैछ ? शिकार गर्ने आफुलाई भने खाजा छैन भन्दै हाङ्छा रीसले मुरमुरीयो।
त्यसपछि खाजा राख्ने ठाँउमा आफु जस्तै देखिने केराको थम्बा राख्यो र आफु रुखमा चढ्यो । जसले खाजा खान्छ उसलाई धनुषवाणले हानेर मार्ने निर्णय गर्यो । एकैछिनमा त्यहा चाप्चा आएर खाजा खान थाल्यो । हाङ्छाले पनि आफ्नो खाजा खान आउने जन्तुलाई केहि पनि विचार नगरी बाँणले हानेर ढाल्यो।
त्यसरी हाङ्छाले चाप्चालाई मारेपछि हाङ्छाले त मार्ने पो रहेछ भनेर तुमुन डरायो । त्यसरी चाप्चा मरेपछि चाप्चा त मऱ्यो। तर, आमालाई अब के भन्ने ? तुमुनले हाङ्छालाई सोध्यो । हाङ्छाले खै ? कता ? गयो कता ? थाहा पाईएन भन्ने भनेर जवाफ दियो।सँधै तीन भाई छोराहरुसंगै शिकार गरेर फर्कने। आज दुई भाई छोराहरु मात्र फर्केको देखेर सुम्निमाले तुमुन र हाङ्छालाई चाप्चा खोई भनेर चाप्चाको बारेमा सोधिन । तर, दुवै भाईले खै? कता गयो? कता थाहा पाईएन भनेर बताए । सुम्निमाले दाजुभाईको कुरा बुझिन र उनीहरु शिकार खेल्ने ठाँउतिर चाप्चालाई खोज्न गईन । जंगलमा सुम्निामाले खाजा खाने ठाँउमा चाप्चा ढलिरहेको भेटिन् । सुम्निमाले मुन्दुम गाउदैं अदुवा काट्दै चिण्डोले दोप्काउदै यारी गर्दै चाप्चाको शिर उठाईन।
सुम्निमाले पेरुङ्गोमा आगो हालेर मरेको चाप्चाको शिर उठाउन उसको शरिर भरी आगो डुलाईन् । पेरुङ्गोको आगो झरेर चाप्चाको शरीर डढेर चाप्चाको शरीर भरी खालखालको टाटा बस्यो । त्यसरी सुम्निामाले चाप्चालाई फेरी प्राण फर्काई व्युझाएपछि चाप्चा जिउदो भयो । त्यसपछि सुम्निमाले फेरी पनि दाजुभाईलाई मेलमिलाप गराए दाजुभाई बिचमा मारामार हुन्छ भनेर खुबै डराईन् । चाप्चाले पाप चिताउने कुबुद्धि गरेकोले फेरी पनि जन्माउनु बचाउनु परेकोले जेठा चाप्चालाई कान्छा बनाईदिईन र चतुर बुद्धि भएकोले हाङ्छालाई जेठो बनाईदिईन् । त्यस दिनपछि तीन जनालाई तीन दिशा तिर पठाईन र भेट गर्दा मारामार नगर्नु भनेर सम्झाईन । हाङ्छालाई बाटोमा भेट्दा चाप्चा बाटोमुनी लुक्नु, भाऊजु (हाङ्छाको श्रीमति) भेट्दा बाटोमुनी लुक्नु भनेर अर्हाईन र अबदेखी शिकार खेलेर आफै खाजा खानु नबाड्नु है भनेर अर्हाईन्।
त्यसरी समय बित्दै जादा सुम्निमाको पनि बुढेसकाल लागेर मृत्यु भयो। हाङ्छाले आमाको मृत शरीर जंगल पुर्याएर गाड्न तुमुनलाई अह्राए । तर, तुमुनले आमाको शवलाई जंगल पुऱ्याएर गाडेर आउनुको साटो उल्टै आमाको शवको मासु खाएर फर्कियो। हाङ्छाले तुमुन त्यति चाडै फर्किएर आएको देखेपछि आमालाई खाईस कि के हो ? भनेर शंका गऱ्यो। तर, तुमुनले होईन भनेर ढाट्यो र निच्च परेर हास्यो। त्यति नै बेला हाङ्छाले तुमुनको दाँतमा आमाको केश अल्झिएको देखेर तुमुनले आमाको लाश खाएको हो भन्ने पक्का ठहर गऱ्यो । त्यसपछि हाङ्छाले तुमुनलाई आमाको मासु खाने ? भनेर बेस्सरी कुट्यो।हाङ्छाले तुमुनलाई त्यसरी कुटेपछि (हाङ्छा) मान्छेले मलाई कुट्यो, त्यसैले आजदेखी मान्छेको अनुहार हेर्न नपरोस भन्दै तुमुन जंगल तिर पस्यो।
त्यसरी सुम्निमाको तीनै भाई छोराहरु छुट्टिएर बस्न थाले। कालान्तरसम्म हाङ्छा (मान्छे)को सन्तानहरु धेरै बढ्दै जादा फैलियो। त्यहि हाङ्छाको सन्तानहरुको नामबाट पाछाहरु बनेको हो भन्ने मिथक पाईन्छ । एकदिन हाङ्छाको सन्तानहरु पनि शिकार खेल्न गए। दिनभरी शिकार खेलेपनि एउटै शिकार मार्न नसकेपछि घर फर्किएर आए र घरमै भएको बाख्रा काटेर खाने निर्णय गरे। बाख्राको मासु सबै दाजुभाईले बराबरी बाडे तर आन्द्रा धुन पधँरो गएको पुमा भाईलाई भाग लगाउन बिर्सिए । पुमा भाई फर्किएपछि आफ्नो लागि खोई मासुको भाग भनेर सोघे। पुमालाई मासु भाग लगाउन बिर्सिएकोले त्यहि आन्द्रालाई नै आफ्नो भाग सम्झिएर खानु भने। पुमाले रीसले मासु त खान पाईएन यो आन्द्रा भनेर आन्द्रा फालिदिए। अब देखि म बाख्राको मासु खान्न भनेर कमस खाएको हो भन्ने मिथक रहेको छ। पुमा मिथक (पुमा बाजे) किरातीहरुको मुन्दुमी मिथक अनुसार (रिकापा÷रिभ्यामा सालपाहाङ÷होङ र रिभिमा÷रिब्रिहाङमा) साल्पा राजा र साल्पारानी)को मिथक किरातीहरुको मुन्दुम अनुसार साल्पा सिलिचोङलाई सुम्निमा पारुहाङको बासस्थान तथा श्रृष्टिको उत्पत्ति केन्द्र/मुन्दुम उत्पत्ति भएको स्थलको रुपमा लिने गरिन्छ।
मुन्दुममा आधारिक मिथक अनुसार श्रृष्टिकर्ता सुम्निमा पारुहाङले श्रृष्टिको उत्पत्ती गराए पश्चात वहाँहरुकै सन्तान किराती मानव पुर्खा होँछा÷हाङछा र नागाहाङ÷नागाहोङको छोरी सिकुरीमा÷सिक्रिमाको बिवाह भयो। बिवाह पश्चात हाङछा÷होङ्छा र सिकुरीमाको छोराछोरी (सालपाहाङ÷होङ र रिभिमा÷रिब्रिहाङमा) (साल्पा राजा र साल्पारानी) को जन्म भयो।
सालापाहोङ र रिभिमा÷रिब्रिहोङमा जवान हुनुभयो। रिब्रिहोङमाले सालापाहोङसँग बिवाह गर्ने ईच्छा राख्नुभयो। तर, उहाँहरू माईतीचेली हुनुभएकोले विवाह गर्नु सक्नु भएन।त्यसपछि सालापाहोङले भन्नुभयो ए छेत्कुमा (चेली) अब म साल्पापोखरीमा गएर बस्छु। तिमीले यहि ठाउँमा जङ्गल फाँडेर फेसा, घैया साप्पाचा, पाङ्दुर छरेर खेतीपाती गरेर बस्नु है। त्यो घैया, साप्पाचा र पाङ्दुर आदि पाकेपछि म याङभोक(बँदेल) बनेर त्यो अन्नबाली खानु आउँछु। त्यहिबेला तिमीले त्यो अन्नबालीको छेउमा पासो थाप्नु।
म त्यो पासोमा परेर मर्छु । तर, तिमीले किरात मुन्धुम फलाक्दै रक्खेखाचासहितको सोलेन्वा र बेछुकले मलाई छर्कनु। म पुनः ब्युँतिन्छु। हाम्रो माईतिचेलीबीचको नातासम्बन्ध पनि टुट्छ। अनि हामीबीच विवाह गरेर यस हेन्खामा भरी साखा–सन्तान फैलाएर बस्नुपर्छ। त्यो कुरामा रिभिमा÷रिब्रिहोङमा राजी हुनुभयो। त्यसपछि सालापाहोङ साल्पामा गएर बस्नुभयो। रिब्रिहोङमाले पनि वहाँको भनाईनुसार अन्नबाली लगाउनुभयो।अन्नबाली पनि पाक्यो।
त्यहि समयमा विभिन्न जनावरहरूले अन्नबाली खानथाल्यो।त्यसपछि रिब्रिहोङमाले पासो थाप्नुभयो। त्यो पासोमा याङभोकको रूप धारण गरेर आउनुभएको सालापाहोङको मृत्युभयो। त्यसपछि रिब्रिहोङमाले त्यस याङभोकलाई बेछुक र रख्खेखाचा सहितको सोलेन्वाले थोक्दाउनु भयो। त्यो याङभोकको रूपमा मरेको सालापाहोङ पुनः ब्युँतिनुभयो ।
अब सालापाहोङ र रिब्रिहोङमाको नाता–सम्बन्ध पनि टुट्यो । त्यसपछि सालापाहोङ र रिब्रिहोङमाले एकआपसमा विवाह गरेर साल्पा दरबार बनाएर बस्नुभयो। साल्पाहाङको साल्पा सिलिचोङ क्षेत्रमा अत्यन्तै सुन्दर (साल्पादरबार) थियो। एक दिन हिमाल÷कैलाश तिर मधेस तिर भ्रमणमा निक्लँदा (निरिवा)ले उक्त साल्पाहाङको सुन्दर दरबार देखेछन र औधि मन पराएछन।साल्पाहाङको सुन्दर साल्पा दरबारदेखि लोभिएर (निरावा)ले उक्त दरबार हात पार्न बिभिन्न षढ्यन्त्र र जालहरु रच्न थालेछन।(निरावा)ले (सालपाहाङ)लाई तन्त्रमन्त्र विधाले बिरामी पारीदिए।(साल्पाहाङ) लाई पिनासले समात्यो र सारो बिरामी पर्नुभयो।
त्यतिबेला नै निरावा भिक्षुको भेष धारण गरेर साल्पा दरबारको तल माथि हिडि रहेको नाटक गर्यो। साल्पादरबारको अगाडि लामाको भेषमा निरीवा देखापरेपछि सालापाहाङले भन्नुभयो ए लामा तपाई त विद्या गर्दै भोट–मधेश गर्नुहुन्छ। तपाई त तन्त्रमन्त्र विद्यामा धेरै शक्तिशाली र निपूर्ण हुनुहुन्छ। अहिले म बिमारी छु। लौ न मलाई निको पारीदिने केहि उपाय गरीदिनु पर्यो? भनेर बिन्ति बिलौना गर्नुभयो। त्यो कुरा सुनेर लामाको भेषमा रहेको निरीवाले भन्योः–सालापाहाङ तपाईलाई यो साल्पादरबार फापेन त्यसैले तपाईलाई पिनास लागेको छ।
त्यसको उपचार म गरिदिन्छु। तर, तपाईंले यो साल्पादरबार छोडेर अन्त कतै टाढा जानुपर्छ। नत्र तपाईको ज्यान पनि जानसक्छ भनेपछि सालापाहाङ साल्पा दरबार छाडेर जान राजी हुनुभयो। त्यसपछि सालापाहाङले रिभ्यामा÷रिब्रिहोङ्मा संग सल्लाह गरेर साल्पादरबारलाई छोडेर (हाल सुनसरी स्थित धरानको बिजयपुरतिर) लाग्नुभयो। साल्पाहाङले पछि साल्पादरबारमा फर्किदा बाटो नभुलियोस भनेर उहाँले बाटो बाटोमा फलैचा÷चौतारा÷देउराली बनाउदैं त्यहाँ बर–पीपलको रुखहरु रोप्दै जानुभयो। त्यसरी सालापाहाङ साल्पा दरबार छाडेर हालको बिजयपुर पल्लोकिरातस्थित धरानको बूढासुब्बा मन्दिर क्षेत्र)मा आएर बस्नुभयो।
उता साल्पादरबारमा रिभ्यामा रिब्रिहोङ्मा (साल्पा रानी) एक्लै हुनुभयो। त्यहि मौका छोपेर निरीवाले रिभ्यामा÷रिब्रिहोङमालाई त्यस साल्पादरबारबाट जबजस्ति निकालेर साल्पादरबारमा बस्यो। त्यसपछि निरिवाले सालापाहाङले बाटो–बाटोमा बनाउनुभएको फलैँचा–चौतारा–देउराली र रोपेको बर–पीपललाई निरीवाले संखुवाखोलामा बगाईदियो। निरिवाले साल्पादरबारलाई पनि अर्कै रूपमा परिवर्तन गर्यो। निरावाले सालापाहाङपछि आफ्नो सालपादरबारमा फर्किनु नसकोस भनेर साल्पादरबार वरिपरि ठूलोठुलो भीर–पहराहरु बनाईदियो।
त्यसैले आजसम्म साल्पा पोखरी वरपर ठुलठुला भिरपहराहरु रहेको जनविश्वास रहेको छ। त्यहाँ नीरीवाको अन्याय र अत्याचारको विगविगी बढ्न थाल्यो। त्यसको प्रतिवाद गर्दै (साल्पारानी) रिभ्यामा÷रिब्रिहोङ्माले आफ्नो साल्पादरबारलाई र आफ्नो सतित्व बचाउनु ठूलो संघर्ष गर्नुभयो। तर, सफल हुनुभएन। निरावाले रिभ्यामा÷रिब्रिहोङमा माथी झन्झन ठूलो षडयन्त्रहरु गरेर दुख दिन थाल्यो। त्यहाँ रिभ्यामा÷रिब्रिहोङमा सुरक्षित हुनुभएन। रिब्रिहोङमाको सतित्व जोगाउन पनि खतरा भयो। रिब्रिहोङमाले आफ्नो सतित्व बचाउनको लागि धेरै संघर्ष गर्नुभयो। तर, निरीवाको अगाडि रिब्रिहोङमाको केहि पार चलेन।त्यसपछि रिभिमा÷रिब्रिहोङमा (साल्पारानी)ले रूँदै–रूँदै साल्पाराजा) सालापाहाङलाई धेरै तिर खोज्नुभयो। तर, कहिपनि भेट्नु भएन। रिब्रिहोङमा÷रिभिमा बेसहारा हुनुभयो। त्यसपछि रिब्रिहोङमाले साल्पादरबार छोडेर सालापाहोङलाई खोज्न हिड्नुभयो।
रिब्रिहोङमा÷साल्पारानीले उनले साल्पाहाङ कता छन ? भनेर साल्पाहाङ (साल्पा राजा)लाई पुकार्दै ढुङ्गा–माटो, खोलानाला, रुखबिरुवा, हावापानी पशुपंक्षी र चराहरुलाई सोध्दै आफ्नो अबस्था र साल्पा दरबार निरिवाले कब्जा गरेको बारे साल्पाहाङको लागि समाचार छोड्दै छोड्दै अरुण नदि कोशी तरिन। यसरी दिनरात साल्पाहाङको खोजीमा हिड्दा हिड्दा पनि कहि कतै अत्तो पत्तो नलागेपछि रिब्रिहाङ्मा (साल्पारानी) थाकिन, निराश भईन र पानी पिएर एउटा ढुंगामा ढल्किइन।त्यसरी रिब्रिहाङमा(साल्पारानी)ले साल्पाहाङलाई खोज्दै उकाली ओराली गर्दै हिड्ने क्रममा कुनै स्थानमा रिब्रिहाङ्मा हिडेको बाटो (साल्पा हाङ)लाई पछि पत्ता लगाउन सजिलो होस भनेर पैतालाको डोवहरु छाड्दै गईन।
त्यसरी प्राचिनकालमा(रिभिमा÷रिब्रिहाङमा)साल्पारानीले टेकेका पाईलाहरुको डोबहरु नै साल्पा शिलिचुङ क्षेत्रमा लामो (पैताला आकारको पोखरी)भएको हो भन्ने जनविश्वास रहेको छ।रिभिमा÷रिब्रिहाङ्माले टेकेर छाडेका डोबहरु भनिएका यस्ता पैताला आकारको पोखरीहरु आजपनि साल्पा पोखरी जाने बाटो÷साल्पा सिलिचुङ क्षेत्रमा प्रशस्त रुपमा देख्न सकिन्छ।
त्यसरी धेरै समय हिड्दै यात्रापछि रिब्रिहाङमा दोभाने फेदी पुगिन। त्यसपछि पनि साल्पाहाङलाई कहिकतै नभेटिए पछि रिभिमा रिब्रिहाङमा फेरी उकालो हुदै फर्किएर साल्पाहाङ बसेको स्थल साल्पा पोखरी पुगिन। साल्पा दरबार छाडेर हिडेको धेरै समय भएपछि (साल्पाराजा)साल्पाहाङको स्वास्थमा सुधार भयो र साल्पाहाङ साल्पा दरबार तिर फर्किए।
पहिला आफुले बाटो बाटोमा बनाउनुभएको फलैचा–चौतारा–देउराली र बर–पीपल केहि पनि भेट्नु भएन। बरू साल्पादरबार वरिपरि जताततै भीरैभीर मात्र भेट्नुभयो। सालापाहाङ अरुण नदीको किनारै किनार हिडेर साल्पा दरबारमा पुग्नुभयो।तर, वहाँले रिब्रिहाङमालाई भेट्नु भएन । तर, साल्पा दरबार शत्रु (निरावा)ले कब्जा गरीसकेको थियो र रिब्रिहाङमा÷साल्पारानी पनि लापत्ता थिईन।
रिब्रिहाङमा बारे सोधि खोजी गर्दै जाँदा बर पिपलको रुखले निरिवाले गरेको अत्याचार रिब्रिहाङ्मामा दुख दिएको र दरबारबारे घटेको सबै घट्ना सबिस्तार बताए । खोला, रुख, पानी, हावा, चरा र जनावरहरुले रानी गएको दिशा बताइ दिए।साल्पाहोङ तुरुन्तै त्यो दिशातिर रिब्रिहोङमा खोजीमा निक्लिए । जाँदा जाँदा बाटोमा पोखरीको रुपमा रानीको पैतालाको डोब भेटियो । रानी अबश्य भेटिने आसमा राजा अझ छिटो अगाडि बढ्यो ।
यसरी रानी खोज्दै जाँदा (जौंबारी)भन्ने ठाउँमा साल्पाहाङले अग्लो ढुंगा ठडिएको भेट्यो । उ उक्त ढुंगामा चढेर रिब्रिहाङमा चारैतिर खोज्न थाल्यो । यसरी खोज्दा टाढा रानीको टाउको मात्र देखियो । उसले त्यस माथि अर्को ढुंगा थपेर हेर्दा रानीको माथिल्लो आधि भाग देखियो ।त्यसैले आज पनि जौंबारीमा अग्लो ढुंगा माथि अर्को ढुंगा थपिएको अबस्थामा देख्न सकिन्छ। त्यसपछि रिब्रिहोङ्मालाई खोज्दै सालापाहोङ अरुण नदिको किनारै–किनार हिड्दै सिदोमा पुग्नुभयो ।
सिदोमा रिब्रिहोङ्मासँग भेट हुनुभयो । त्यहाँ वहाँहरूले दुःखसुःख साटासाट गर्नुभयो । रिब्रिहोङमाले रूँदै आफूले पाएको दुःख–कष्ट अआफ्नो राज्य फर्काउनको लागि गरिएको प्रयास र आफ्नो सतीत्व बचाउनुको लागि सालापाहोङलाई धेरै खोजेको। तर, पाउन नसकेको सबै वृतान्त बताउनुभयो। त्यसपछि उहाँहरूबिच जुनी–जुनीसम्म सँगै मर्ने, सँगै बाँच्ने बाचाकसम खाएर बस्नुभयो । तर सिदोबाट पनि वहाँहरूलाई निरीवाले लखेट्यो । त्यसपछि उहाँहरू सुकेपोखरीमा आएर बस्नुभयो । त्यहाँबाट पनि निरिवाले लखेट्यो ।
फेरि आहालेडाँडामा आएर बस्नुभयो त्यहाँबाट पनि उहाँहरूलाई निरीवाले धपायो । जहाँ गए पनि उहाँहरूलाई निरीवाको सिपाहीहरूले लखेट्यो र ज्यानको सुरक्षा कहिँ पनि भएन ।त्यसपछि उहाँहरूले एकापसमा सल्लाह गरेर साल्पादरबार नै फर्किनु भयो ।
त्यहाँ वहाँहरू र निरीवाका सिपाहीहरूको बिच घमासान लडाँई भयो । त्यो युद्वमा उहाँहरूले किरात मुन्दुम फलाक्दै वाँण हान्नुभयो । त्यो वाँणले निरीवाको सिपाहीहरू सखाप भयो । यो युद्वमा उहाँहरूको जित भयो। त्यो निरीवा डरले काम्नु थाल्यो । त्यसपछि रिब्रिहोङमाले निरीवाको अनुहारमा आफ्नो फुची दलिदिँदै पहिला आफ्नो सतीत्व खोस्न खोज्ने निरीवा भएको कुरा साल्पादरबारको जनताहरूलाई बताउनुभयो।
त्यो दर्दनाक कहानी सुनेर त्यहाँको जनताहरूले निरीवालाई सालापाहोङले काटेर मार्नुपर्ने फैसला सुनायो । त्यो फैसला अनुसार उहाँले निरीवालाई काटेर मार्नुभयो। त्यसरी सालापाहोङ र रिब्रिहोङमाको बिजय भयो। उहाँहरूको बिजयमा साल्पादरबारको जनताहरूले जयजयकार मनायो । साथै उहाँहरूलाई साल्पादरबारमा ल्याएर राख्यो ।
त्यसपछि साल्पादरबारको जनताहरूको ईच्छाअनुसार सालापाहोङ र रिब्रिहोङमाले साल्पादरबारमा फेरी पहिलाझैं त्यहाँको जनताहरूको रक्षा गरेर राज्य गर्नुभयो। त्यसपछि उहाँहरू साल्पादरबारको पोखरीमुनि बस्नुभयो। त्यहाँ उहाँहरूलाई कसैले पनि केहि गर्न सकेन। (किराती मुन्दुमी मिथक संग्रह प्रसिद्ध किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा पोखरी विभिन्न मौखिक श्रोतहरु) यो साल्पापोखरी भोजपुर जिल्लाको दोभाने गाबिसको वडा नम्बर ५ मा साल्पा पोखरी र सिलिचुङ (मुन्दुमी साया) रहेको छ।
नेपालको भोजपुर जिल्ला, सोलुखुम्बु, संखुवासभा र खोटाङ जिल्लाको सिमानामा रहेको संगम स्थलमा साल्पा शिलिचोङ रहेको छ। साल्पा पोखरीमा किरातीहरु तथा गैर किरातीहरु बौद्ध हिन्दुहरु धर्मालम्बीहरु समेत हजारौ मानिसहरु भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा भेलाभई साल्पा पोखरीमा पुजाआजागर्दछन।
किराती नछुङ माङ्पा÷दोवा÷नागिरे÷कुबि÷ज्वाम्चो÷ पासिङ÷माबिहरुले ढोल–ढ्यांग्रो बजाउँदै रातभरि चिन्ता(धामी) बस्छन। त्यहा आउने श्रद्वालु भक्तजनहरुले (सोई राजा सोई…सोई, सोई रानी सोई….सोई)भनेर साल्पाहोङ र रिब्रिहोङमासंग बल शक्ति आशिर्वाद माग्दै पुकार गर्दछन।
यसरी साल्पा पोखरीमा जीवनमा कम्तिमा एक पटक पुग्नैपर्छ भन्ने जनविश्वास रहेको छ। साल्पा पोखरीमा आएर पूजा आराधना गरेमा सुखशान्ति र चिताको काम पुरा हुन्छ। कसैको सन्तान नभएमा बाँसको चोयाँको कोक्रो बनाई सन्तान मागेमा सन्तान प्राप्त हुने जनविश्वास समेत रहेको छ। त्यस्तै, बोली नआएको बालबच्चालाई साल्पा पोखरी लगेर पुजा गरेमा बोली आउने जस्ता विभिन्न धार्मिक जनविश्वास रहेको छ।
अन्तमाः–आदिम किराती पुर्खाहरु साल्पाहाङ÷साल्पाहोङ ( साल्पा राजा) र रिब्रिहोङमा÷रिभामा÷ रिभ्यामा÷रिब्रिहाङमा (साल्पा रानी)को आधारमा साल्पा पोखरी नामकरण भएको हो। यस साल्पा सिलिचुङ लाई किरातीहरुको श्रृष्टिकर्ता सुम्निमा पारुहाङको बास स्थान÷रिकापा रिभ्यामा तथा साल्पाहोङ र रिब्रिहोङमाको बासस्थान मानिन्छ। साल्पा सिलिचोङलाई श्रृष्टिको उत्पत्ति केन्द्र मानिन्दै यहि साल्पा सिलिचोङमा नै मुन्दुमको उत्पत्ति भएको जनविश्वास रहेको छ।
पछिल्लो समयमा किरातहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल, किरात सांस्कृतिक सम्पदा साल्पा–सिलिचोङमा विभिन्न चौतर्फी रुपमा धार्मिक तथा सांस्कृतिक अतिक्रमण बढिरहेको छ।
किरातीहरुको पबित्र मुन्दुमी स्थल साल्पा सिलिचोङमा हिन्दुहरुको मठ मन्दिर जस्ता भौतिक संरचना निर्माण गर्ने, हिन्दुकरण गरेर हिन्दु देबी देउताको विभिन्न मुर्तिहरु राख्ने, साथै बौद्ध मार्गिहरुले माने र छोटेन जस्ता भौतिक संरचना निर्माण गर्ने, बौद्ध ध्वजाहरु टाङ्ने जस्ता धार्मिक अतिक्रमणको कार्यहरु हुदै आइरहेको छ।
त्यस्तै, साल्पा सिलिचोङ क्षेत्रमा भक्तकुमार राईको हेभेन्लीपाथ प्रेमवाद लेखिएको भित्तेलेखन समेत लेखेको पाईएको छ। हिन्दुहरुको पशुपति मन्दिर, बौधहरुको लुम्बिनी भने जस्तै र त्यतिकै किरातीहरुको धार्मिक आस्थासंग जोडिएको यस साल्पा सिलिचोङ बिशुद्ध किरातीहरुको मुन्दुम तथा किरात धार्मिक तथा सांस्कृतिक स्थल हो ।
साल्पा सिलिचोङ किरातीहरुको पबित्र मुन्दुमी स्थल किरात धार्मिक तथा सांस्कृतिक स्थल हो भनेर मुन्दुमले स्पष्ट पार्दछ। मुन्दुम अनुसार हजारौ बर्ष अघि सुम्निमा पारुहाङको समय श्रृष्टिको उत्पति कालदेखि, प्राचिन किरात मानव सभ्यताको सुरुवात यहि साल्पा सिलिचोङ बाट नै भएको मुन्दुमले स्पष्ट पार्दछ ।
साल्पा सिलिचोङ किरातीहरुको धार्मिक तथा सांस्कृतिक स्थल हो भनेर विभिन्न अभिलेख पुस्तकहरुमा समेत तथ्य प्रमाणहरु पाउन सकिन्छ। त्यसैले साल्पा सिलिचोङ जस्तो किरात धार्मिक तथा सांस्कृतिक स्थलमा धार्मिक अतिक्रमण गर्नु भनेको धार्मिक सहिष्णुता खल्बलाउनु हो। धार्मिक कलह निम्त्याउनु हो। त्यसैले किरातीहरुको पबित्र मुन्दुमी स्थल किरात धार्मिक तथा सांस्कृतिक स्थल नै अतिक्रमण गर्ने कार्य रोकिनु पर्दछ।
नेपालको पशुपति मन्दिरलाई जसरी हिन्दु धर्मालम्बिको तिर्थस्थल हो भनेर सबैले स्वीकार गरिएको छ। जसरी लुम्बिनी बौद्ध धर्मलम्बिको तिर्थस्थल हो भनेर सबैले स्वीकार गरिएको छ। त्यसरी नै साल्पा सिलिचोङलाई पनि किरातीहरुको पबित्र मुन्दुमी स्थल हो भनेर हिन्दु बौद्ध धर्मालम्बि लगायत सबै धर्मालम्बिले किरात धार्मिक तथा सांस्कृतिक स्थलको रुपमा स्वीकार गर्नु पर्दछ। र, मात्र नेपालको किरात हिन्दु र बौद्ध धर्मालम्बी बिचमा धार्मिक सहिष्णुता कायम रहने छ । केहि वर्ष यता चखेवा हांसपोखरी लौरे भिर हुदै मुन्दुम पदमार्ग, पर्यटकीय पदमार्ग खुले पश्चात मुन्दुम पदमार्ग हुदै साल्पा सिलिचोङको दर्शन गर्न जाने दर्शनार्थी तिर्थालुहरुकोहरुको संख्या बढिरहेको छ।
तर, स्थानीय निकायहरुको योजनामा भौतिक विकास निर्माणको नाममा साल्पा सिलिचोङ क्षेत्रलाई क्षति पुग्ने गरि सोलुखुम्बु संखुवासभादेखि खोटाङ भोजपुरसम्मको सडक निर्माण गर्ने तयरारी भई रहेको देखिन्छ। यदि स्थानीय निकायहरुले सोलुखुम्बुदेखि खोटाङ र भोजपुरसम्मको सडक निर्माण गर्ने नै हो भने पनि साल्पा सिलिचोङ क्षेत्रलाई क्षती नपुग्ने गरि सडक निर्माण गर्न आवस्यक छ।
साल्पा सिलिचोङ क्षेत्रमा भौतिक विकास निर्माणको नाममा, बाटोघाटो सडक निर्माण गर्ने कार्यहरु गर्दा धेरै नै विचार पुऱ्याउन आवश्यक छ। साल्पा सिलिचोङ परिसर क्षेत्रको भुगोललाई क्षति पुग्ने गरी भौगोलिक उथलपुथल खन्ने भत्काउने कार्यहरुले गर्दा साल्पा पोखरीको (मुहान÷नशा) सुक्ने सम्भावनाको खतरा देखिन्छ।
साल्पा पोखरीको मुहान सुक्यो भने किरातीहरुको पवित्र मुन्दुमी स्थल किरात श्रृष्टिको उत्पत्ती केन्द्र मुन्दुमको उत्पत्ती केन्द्र तथा किरात धार्मिक तथा सांस्कृतिक स्थल साल्पा सिलिचोङको मुन्दुमी अस्तित्व समाप्त हुनेछ। साल्पा पोखरीको पानीको मुहान सुक्यो भने यहाको पर्यावरण वातावरणलाई असर पुग्न सक्दछ।
साल्पा–सिलिचोङ आसपासको क्षेत्रमा विभिन्न प्रकारको प्राकृतिक वनस्पतिहरू, लालीगुराँसका विभिन्न प्रजातिहरु, विभिन्न प्रजातीको मुन्दुमी वनस्पतीहरु तथा मुन्दुमी फुलहरु जस्तै सुनपाती, भैरुङपाती, विभिन्न प्रजातिका जडिबुटीहरु, लगायत विभिन्न प्रजातिका पशुपंक्षी डांफे मुनाल रेड पान्डा लगायतका जंङ्गली जीवजन्तुहरूको अस्तित्वमा संकट आउने, लोप भएर जाने खतरा देखिन्छ।
त्यसैले साल्पा सिलिचोङ क्षेत्रमा विकासको नाममा बाटोघाटो सडक निर्माण गर्ने कार्ययोजनालाई त्यहांको भूगोल, भुबनोट, साल्पा पोखरीको मुहानको अध्ययन, सम्भावित साल्पा पोखरी सुक्न सक्ने खतराको बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर मात्र कदम चाल्न आवश्यक छ।
साल्पा सिलिचोङलाई संरक्षण प्रवर्दन गर्नु, जोगाउनु भनेको किरातहरुको पवित्र मुन्दुमी स्थल किरात धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोगाउनु मात्र होईन। साल्पा सिलिचोङ परिसर क्षेत्रको पर्यावरण वातावरणको संरक्षण गर्नुका साथै हजारौ प्रजातिको प्राकृतिक मुन्दुमी वनस्पतिहरु, मुन्दुमी फुलहरु विभिन्न प्रजातीका जंगली जडिबुट्टि तथा जंगली पशुपंक्षी जीवजन्तुहरुको संरक्षण पनि हुन आवश्यक छ।
किरातीहरुको पबित्र मुन्दुमी स्थल साल्पा सिलिचोङ क्षेत्र किरात सांस्कृतिक सम्पदा हो । साल्पा सिलिचोङलाई संरक्षण तथा प्रवर्द्धन गरेर युनेसको अनतर्गत विश्व सम्पदा सुचिमा सुचिकृत गर्न आवश्यक छ।
त्यस्तै, साल्पा सिलिचोङ क्षेत्रलाई हिन्दुहरुको मानसरोबर ताल र कैलाश पर्बत, बौद्दहरुको लुम्बिनी जस्तै नेपाल, भारत, भुटान, बर्मा लगायत विश्वभरको किराती तथा गैर किरातहरुको धार्मिक तिर्थस्थल तथा पर्यटकीय स्थलको रुपमा विकास तथा किरात सांस्कृतिक सम्पदाको रुपमा स्थापना गर्न आवास्यक छ ।
यसो गर्न सकियो भने आन्तरिक तथा विश्वभरका बाह्य पर्यटन भित्राएर स्थानीय तवरमा आय आर्जनको स्रोत साथै स्थानीय बासीहरुलाई रोजगारको सिर्जना गर्न सकिनेछ। तसर्थ किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचोङलाई किरातहरुले केहि वर्ष भित्र नै संरक्षण तथा प्रवर्द्धन गर्न सकेनौ भने चौतर्फी रुपमा धार्मिक÷सांस्कृतिक अतिक्रमण भएर साल्पा सिलिचोङ भनेको श्रृष्टिको उत्पत्ति केन्द्र तथा मुन्दुमको उत्पत्ति केन्द्र रहेको। सुम्निमा पारुहाङको बासस्थान हो भन्ने सिर्फ कथा कहानीमा मात्र सिमित हुनेछ।
साल्पा सिलिचोङको मुन्दुमी अस्तित्व समाप्त भएर जानेछ। साल्पा सिलिचोङलाई जोगाउन नसकेकोमा किराती भाबि सन्ततिहरुले धिक्कार्ने छन्। अतः–साल्पा सिलिचोङ विश्वभरको किरातीहरुको मुन्दुमी आस्था जोडिएको एक पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक स्थल भएकोले साल्पा सिलिचोङको संरक्षण प्रवर्द्धन गर्ने जिम्मेवारी पनि विश्वभरकै किरातीहरुको नै जिम्मेवारी हो।
त्यसैले, विश्वभर छरिएर रहेका किरात जन्य संघसंस्थाहरु, भोजपुर, सोलुखुम्बु, खोटाङ र संखुवासभाको स्थानीय निकायहरु, नेपालको पर्यटन तथा संस्कृति मन्त्रालय तथा नेपाल सरकार अन्तर्गतको सरकारी निकायहरुको तर्फबाट साल्पा सिलिचोङलाई संरक्षण तथा प्रवर्द्धन गर्दै किरातीहरुको पवित्र मुन्दुमी स्थल, धार्मिक तथा सांस्कृतिक स्थल साल्पा–सिलिचोङलाई किरात सांस्कृतिक सम्पदा स्थापित गर्दै युनेस्कोको विश्व सम्पदा सुचीमा सूचीकरण गर्नको लागि पहल गर्न आवश्यक छ ।
मुलघरे कान्छा (राजेन खिम्बुले राई)
भोजपुर चरम्बि ऱ्याङग, हाल- बेलायत