दशैंको मुखमा ७० वर्षे धिमालले आफ्नो एकतले घरको बुइँगलमा शनिबार राति डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । धिमालले आफू जीवितै हँुदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका रहेछन् । तर, धरानस्थित वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले उनको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइदियो ।
दशैंका बेला टाढा-टाढा रहेका परिवारजनको भेटघाट र मिलन हुने गर्छ । तर, यस्तो चाडबाडको मुखमा पूर्वसांसदजस्तो सचेत व्यक्तिले किन आत्महत्या गरे होलान् ? दशैंमा आफ्ना सन्तानलाई आशिर्वाद दिनुपर्ने बेलामा धिमालले आखिर किन सन्तानलाई रुवाउने बाटो रोजे ? धिमालको आत्महत्यापछि यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो ।
सोमबार अनलाइनखबरकर्मी धिमाल निवासमा पुग्दा बाटो छेउको पुरानो घर लगभग सुनसान थियो । झार पलाएको आँगनमा तीन/चारजना मानिस थिए । केही खाली कुर्सीहरु थिए । भित्र छोरा सेतो पहिरनमा बुबाको काजकिरिया गरिरहेका थिए । सहयोगीका रुपमा भतिज र भाञ्जा खटिएका थिए ।
हामीले भतिज कविन्द्रराज धिमाललाई घटना कसरी भयो भनेर सोध्यौं । उनले सविस्तार विवरण सुनाए-
शनिबार राति एम्बुलेन्स चालकले बाटैदेखि घरमा लास झुण्डिइरहेको देखेछन् । त्यसपछि त्यहीँबाट बेलबारी प्रहरीलाई फोन गरेछन् । प्रहरी गस्तीमा अन्तै निस्किएको रहेछ । पछि प्रहरी आइसकेपछि मलाई काकाकै मोबाइलबाट राति २ बजेतिर फोन आयो ।
म काकाको घरभन्दा अलि पर बस्छु । त्यहाँ हाम्रो धिमाल दाजुभाइहरुको गाँवै छ । यो घरमा चाहिँ काकामात्रै एक्लै बस्नुहुन्थ्यो । घरमा अरु कोही थिएनन् ।
प्रहरीको फोन आइसकेपछि मैले राति नै गाउँका अरु दाजुभाइलाई उठाएँ । काठमाडौंमा रहेका छोरा र श्रीमतीलाई पनि खबर गरें । हामी आइसकेपछि प्रहरीले लासको प्रकृति मुचुल्का उठायो ।
उहाँले राति कोठाबाट बाहिर निस्केर बुइँगलमा पासो लगाउनुभएछ । डोरी बाँध्ने ठाउँ अलि अग्लो भएकाले मुढा राखेर चढ्नुभएछ । लासको छेउमा मुढा पनि थियो ।
प्रहरीले लास उठाइसकेपछि पोष्टमार्टमका लागि धरान घोपा -वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान) पठायो । त्यो दिन शनिबार थियो, त्यत्तिकै भयो । हामी अस्पताललाई लास बुझाएर आयौं ।
छोरा अभिमन्युले म बेलुकासम्म आइपुग्छु भनेका थिए । उनी मोटरसाइकलमै काठमाडौंबाट आइपुगे । काठमाडौंमै बस्ने काकी (कर्णबहादुरकी श्रीमती) बिरामी हुनुभएकाले आउनुभएन । काठमाडौंमा रहेकी बुहारी पनि बच्चा सानै भएकाले आइनन् । छोरामात्रै आए । अहिले उनी कोरामा बसेका छन् ।
काका घरमा एक्लै बस्नुहुन्थ्यो । पहिले-पहिले किचनमा आफैं पकाएर खानुहुन्थ्यो । पछि भाञ्जाले नजिकैको होटलमा खाना खाने व्यवस्था गरिदिएका थिए, बिहान बेलुकै होटलमै खानुहुन्थ्यो ।
काका बिरामी हुनुहुन्थ्यो । उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो । एक हप्ता पहिले उहाँलाई अलि गाह्रो भयो । छिमेकीहरु आएर अस्पताल लैजान्छौं भन्दा मान्नुभएन । एकजना पूर्वसैनिकले छातीमा मालिस गरेपछि ठीक भयो र उठ्नुभयो । पहिले पनि मुटुको समस्याले अस्पताल लगिएको थियो । पछिल्लो समय उहाँलाई हर्निया पनि भएको थियो । उहाँ अत्यधीक पिउन थाल्नुभएको थियो ।
काकाको गोजीमा एउटा कागज भेटिएको थियो । उहाँले आफ्नो शरीर अस्पताललाई दान दिनुभएको रहेछ । त्यसैले अस्पताललाई दिइसकेको लास फिर्ता दिँदैन भन्ने लाग्यो । लास धरानमै थियो, अब कसरी सदगति गर्ने भन्ने समस्या भयो । यो हाम्रा लागि नयाँ विषय बन्यो ।
मलाई एकजना दमकको साथीले भन्यो कि हाम्रोमा पनि एकपटक यस्तै भएको थियो र हामीले कुशको प्रतिमा बनाएर सदगति गरेका थियौं । मैले यो कुरा सबैलाई सुनाएँ र कुशको बनाएर जलाउन सकिने कुरा गरेको थिएँ ।
हामी धरानबाट र्फकँदा कुशको शव बनाउन थालिसकेका रहेछन् । तर, शरीर दान गरे पनि पोष्टमार्टम गरेको लास अस्पतालले जिम्मा नलिन सक्छ र फिर्ता गर्न सक्छ भन्ने कुरा चल्यो । अहिले कुशको बनाएर जलाऔंला, भोलि अस्पतालबाट लास फिर्ता आयो भने दुईचोटि सदगति गर्नुपर्ने हुन्छ, त्यसैले आज नगरौं भन्ने निर्णय भयो ।
आइतबार हामी वीपी प्रतिष्ठानमा रजिष्ट्रारलाई भेट्न गयौं । त्यहाँ यही विषयमा बैठक चलिरहेको रहेछ । त्यहाँबाट इमर्जेन्सीमा जानोस् भने. । इमर्जेन्सीमा पुग्दा शवगृहमा जान भने ।
शव गृहमा पुग्दाखेरि मोटरसाइकल दुर्घटनामा मृत्युभएका बेलबारीकै दुईजना भाइहरुको पोष्टमार्ट हुन लागेको रहेछ । उनीहरुको शव परिवारलाई बुझाएपछि काकाको पनि शव फिर्ता दिए । पोष्टमार्टम गर्नुपर्ने केस भएको लास अस्पतालले जिम्मा लिँदैनरहेछ । त्यसपछि हामीले साँझमा बेलबारीको लोहोन्द्र खोलामा उहाँको सदगति गर्यौं ।
हाम्रो धिमाल जातीय विकास केन्द्र भन्ने संस्था छ । काका त्यो संस्थाको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । संस्थाले मंगलबारेमा रहेको कार्यालयमा शव राखेर श्रद्धाञ्जली कार्यक्रम गर्ने भनेको थियो । तर, हामीले समय नभएकाले त्यहाँ नलगी सदगति गर्यौं । हाम्रो धिमालको संस्कार अनुसार तीन दिनमै काज किरिया सकिन्छ ।
काका ‘अब म धेरै बाच्दिनँ होला’ भनेर बारम्बार भनिरहनुहुथ्यो । मर्नुपर्ने रहेछ, अघिल्लो दिन मलाई फोन गरेर बोलाउनुभयो र त्यसै भन्नुभयो । सधैं पनि त्यसै भनिरहने हुनाले मैले स्वाभाविक रुपमा लिएँ । उहाँले म मरेपछि मेरो फोटो भाञ्जालाई दिनु र प्रमाणपत्रहरु संस्थालाई दिनू भन्नुभएको थियो ।
को हुन् कर्णबहादुर ?
कर्णबहादुर झापा-मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन् । उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन् । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निश्क्रिय र स्वतन्त्र थिए ।
लालभित्ती चोकै छेउमा सानो घरमा बसेाबास गर्दै आएका उनी सामान्य जीवन यापन गरिरहेका थिए । स्थानीयका अनुसार उनी जीवनको उत्तरार्धमा अत्यधीक मादक पदार्थ सेवन गर्थे । पारिवारिक तनावमा भएकाले पनि उनी मादक पदार्थमा बढी लागेको स्थानीयको भनाइ छ ।
वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए । त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ ।
रापंस बनेपछि धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने । ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए ।
१६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने । ०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्चसमेत मनोनित भए ।
०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदानस्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए ।
उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचत हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए ।
एक्लोपनका कारण बुढेसकालमा डिप्रेसन
धिमालले आत्महत्या गर्नुको कारण के थियो ? उनले आफ्नो सुसाइट नोटमा यसबारे खुलाएका छैनन् । शरीरमा भेटिएको कागजमा शरीर दानको कुरोमात्रै उल्लेख भएको आफन्तहरु बताउँछन् ।
तर, स्थानीय लालभित्तीका बासिन्दाहरु भने पारिवारिक तनाव र एक्लोपनका कारण धिमालले आत्महत्या गरेको हुनसक्ने बताउँछन् ।
‘कर्णबहादुरका नाममा जग्गा जमिन र घर केही पनि थिएन । उनी बसेको घर पनि छोराका नाममा थियो,’ धिमाललाई नजिकबाट चिन्ने एक स्थानीयले भने, ‘काठमाडौंमा पनि घर थियो, छोरा र श्रीमतीकै नाममा थियो, उनले आफ्नो नाममा केही पनि राखेका थिएनन् । उनी निकै ठूलो आर्थिक समस्यामा बाँचिरहेका थिए ।’
स्थानीयवासीको भनाइ अनुसार हाल उनी बसिरहेको घर अघिल्लो महिनामात्रै छोराले स्थानीय सानिमा बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण निकाले । त्यसबेला धिमालले मलाई २० हजार रुपैयाँ चाहिँ देऊ है भनेका थिए, तर छोरा पैसा नदिई काठमाडौं गए ।
आत्महत्या गर्नुअघि लालभित्तीका छिमेकीहरुलाई भेटेर धिमालले रुँदै ‘अब म बाँच्दिनँ’ भन्ने गरेको स्थानीयवासीको भनाइ छ ।
धिमालका एकजना छिमेकीले अनलाइनखबरसँग भने- ‘मकहाँ आउनुभयो र रुँदैरुँदै भन्नुभयो- ‘अब म धेरै दिन बाँच्दिनँ ।’