आज : २०२६-०६-०९, मङ्गलबार

श्रम संस्कृति पार्टी मकवानपुरको बैठक सम्पन्न, जिम्मेवारी हेरफेर र नयाँ मनोनयन

हेटौंडा- श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरको नियमित बैठक सम्पन्न भएको छ। बैठकले संगठन सुदृढीकरण, आगामी कार्यक्रम तथा पार्टीको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

बैठकको निर्णयअनुसार जिल्ला अध्यक्ष युनेश लामा सिन्तानले शिक्षण पेशामा आबद्ध हुनुपर्ने तथा समय व्यवस्थापनमा कठिनाइ हुने भएकाले जिल्ला अध्यक्षको जिम्मेवारीबाट अलग रहने निर्णय गरेका छन्। उहाँले सम्हाल्दै आएको जिम्मेवारी हस्तान्तरण गर्दै पार्टीको संगठनात्मक गतिविधिलाई निरन्तरता दिन केन्द्रीय सदस्य मन्दिरा मुक्तानलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।

यस्तै, रिक्त रहेको जिल्ला उपाध्यक्ष पदमा सीताराम प्रजा र डबल तितुङलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ। नवमनोनित पदाधिकारीहरूलाई पार्टीको नीति, सिद्धान्त तथा संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको बैठकले जनाएको छ।

बैठकमा सहभागी नेताहरूले पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टि र चुनौतीका बाबजुद संगठनात्मक एकता, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै पार्टीलाई थप सशक्त, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पार्टीका अनुसार बैठकबाट पारित निर्णयहरूले मकवानपुर जिल्लामा संगठन विस्तार तथा पार्टी गतिविधिलाई थप गतिशील बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।