News Portal

कर्णालीको अनौठो प्रचलन, विवाह गर्न लागेका छोरालाई आमाको स्तनपान

हिमालीसंचार संवाददाता
४९१ पटक

कर्णाली – कर्णालीका कैयौँ गाउँबस्तिमा विवाहको दिन दुलही लिन जानुअघि दुलहालाई उनकी आमाले “स्तनपान” गराउने र छोराले आमालाई कोसेली दिने प्रचलन छ।

आमा नभएका दुलहालाई पनि काकी, सानीमा वा ठूलीआमाले विधि पुर्‍याउनै भए पनि स्तनपान गराउने प्रचलन रहेको छ। मागीविवाह गर्दा मात्र दुलहाले स्तन चुसेर आमालाई चामलबाट बनेको लड्डु र अर्सा रोटीलाई भोर्लाको पातको पोकाभित्र राखेर कोसेली दिने अनौठो प्रचलन रहेको छ।

छोरा जति नै उमेरको भए पनि विवाहमा अनिवार्य रूपमा स्तन चुसाउने र ‘दूध कोसेली’ दिने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन्। कर्णाली प्रदेशका दैलेख, पश्चिम सुर्खेत, जुम्ला, कालीकोटका साथै सुदूरपश्चिम प्रदेशका अछाम, डोटीसहितका जिल्लामा यो अनौठो प्रचलन वर्षौँदेखि चल्दै आएको छ।

आमालाई ‘दूध कोसेली’: स्थानीय बुढापाकाहरुका अनुसार स्तन चुसेर आमालाई दिने कोसेलीलाई ‘दूध कोसेली’ भनिन्छ। दुलहालाई काँधमा बसालेर अग्लो ठाउँमा उभिएकी आमाले स्तन चुसाउने गर्छन्।

दुलहा छोरालाई स्तन चुसाउँदै गर्दा आमाले “दाम्पत्य जीवन सफल होओस्, सधैँ सुखी र खुसी रहनू” भन्दै आर्शीवाद दिन्छिन्। स्तन चुसाउने बेला कपडाले दुलहाको अनुहार छोपिएको हुन्छ। स्तन चुसिसकेपछि काँधबाट नझरेरै दुलही लिन दुलहा जान्छन्।

जन्ती र डोलीसहित दुलही ल्याउन दुलहा हिँडेपछि आमा, दिदीबहिनी, देउरानी, जेठानी र छिमेकी महिलाले कोसेली बाँडेर खाने र रत्यौली खेल्ने प्रचलन रहेको छ। तर, छोरीलाई भने स्तन चुसाएर बिदा गर्ने चलन छैन।मागीविवाहको हकमा मात्र यो प्रचलन रहेको छ। भगाएर विवाह गर्नेलाई आमाको स्तनपान गराउने चलन हुँदैन।

दूध खुवाएको सम्झना: दूध खुवाउने चलनलाई एकथरीले आमाबाट छोरा टाढिएको सङ्केतको रूपमा लिने गर्छन् भने अर्कोथरी आमा र छोराबीच अझ प्रगाढ सम्बन्ध स्थापित हुने विश्वास गर्छन्। दैलेख चामुण्डा विद्रासैनीकी ६१ वर्षीया कृष्णकला बिष्ट वयस्क भइसकेका छोरालाई फेरि स्तनपान गराउँदा सानो छँदा दूध खुवाएको सम्झना आउने बताउँछिन्।

उनले भनिन्, “विवाहको दिन स्तन चुसाउँदै गर्दा छोरा सानै छ, आफ्नै काखमा छ जस्तो लाग्दो रहेछ। तर, स्तन चुसाएर बिदाइ गरेपछि भने आफ्नो काखबाट सधैँका लागि टाढिएको अनुभूति हुँदो रहेछ।”

कस्तो अनुभूति हुन्छ : दूध खुवाएर बिदाइ गर्दा कतिपय आमाहरू नरमाइलो अनुभूति गरेर भक्कानिएर रुने गर्छन्। आफ्नो काखमा राखेको छोरालाई अर्काको जिम्मा लगाउँदा धेरै नै पीर पर्ने उनीहरू बताउँछन्।

सुर्खेतकी ७९ वर्षीया भुवनसरी शाही भन्छिन्, “विवाहका बेला अन्तिम पटक स्तन चुसाउँदै गर्दा आफ्नै काख र अधीनमा रहेको छोरा अर्काको भयो भनेर नरमाइलो लाग्छ।”

स्थानीयवासीका अनुसार पहिला कम उमेरमै छोराछोरीको विवाह गरिदिने चलन हुँदा आमाले अबदेखि आफ्नो काख छुट्यो भन्दै विवाहको दिन अन्तिम पटक दूध खुवाउने गर्थे।

दैलेखका जङ्गबहादुर बिष्ट भन्छन्, “मैले १४ वर्षको उमेरमा विवाह गर्दा आमाको स्तन चुसेर ‘दूध कोसेली’ दिएको थिएँ। आमाको स्तन चुस्दा लाज लाग्दैन, बरु सानो छँदाको याद आउँछ। रमाइलो अनुभूति हुन्छ।” कतिपय ठाउँमा पातलो टालोले छेकेर त कतिपय ठाउँमा टालो नराखेर नै दुलहालाई आमाको स्तनपान गराउने चलन छ। 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...