
रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा नोबेल अस्पतालका डाक्टरहरूसँगै नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पनि बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । नि:शुल्क स्वास्थ्य शिबिर संचालनका अवसरमा बोल्दै नेता कोइरालाले नोबेलले सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अस्पतालको प्रशंसा गरे । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गर्ने गरिएको भन्दै शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।
उक्त शिविरमा १ हजार १३ जना बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये २१४ जनाको रक्त परीक्षण, १७९ जनाको भिडियो एक्सरे र १२१ जनाको इसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
शिविरमा उपचार सम्भव नभएका ८५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको छ । उनीहरुले नोबेल अस्पतालमा उपचार गराउँदा उपचार सेवामा ५० प्रतिशत छुट दिने समेत बताए ।