
काठमाडौं – नुवाकोटको विद्युत प्रशारण लाइनमा एक पुरुष पुगेपछि नेपाल विद्युत प्राधिकरणले ६० लाख रुपैयाँ हाराहारी घाटा बेहोर्नुपरेको जनाएको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले ५ घण्टा विद्युत उत्पादन बन्द गर्दा सो बराबरको घाटा भएको बताए ।
घिसिङका अनुसार ‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सफल भएको छैनौँ । विद्युत उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भइरहेको छ । विद्युत उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्याउन गाह्रो हुन लागेको छ । झन्डै ७० मेगावाट विद्युत उत्पादन बन्द गरिएको छ । प्रहरीले पनि तल झार्न प्रयास गरिहेको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक शनिवार बिहानदेखि २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् । बिहान ९ बजे प्रशारण लाइनको टावरबाट सबैभन्दा माथिल्लो लाइनमा पुगेका उनलाई अपराह्न साढे ४ बजेसम्म उद्धारको प्रयास सफल हुन सकेको छैन ।
बिहान ११ बजेदेखि विद्युत उत्पादन बन्द गरिएको घिसिङले बताए । तलबाट बोलाउँदा नमानेपछि उनको उद्धारका लागि प्राधिकरणले प्रमुख जिल्ला अधिकारी र नेपाली सेनालाई गुहारेको छ । उनले भने– ‘तारमा गएर उसलाई तल झार्न पनि सम्भव छैन्, बोलाउँदा झन् झन् माथि गइरहेको छ । नेपाली सेनालाई पनि भनेका छौँ, प्रमुख जिल्ला अधिकारी पनि लागिरहनुभएको छ ।
नेपाल आर्मीले हेलिकप्टर लिएर जाँदा पनि उद्धार गर्नुपर्ने मान्छे नै तयार भएन भने के गर्ने ? समातेर ल्याउन पनि नमिल्ने अवस्था छ ।’ मानसिक समस्या रहेको विकको उद्धार गर्न अझै समस्या रहेको बताईएको छ।