
काठमाडौं – किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शनिबार संघ, प्रदेश र स्थानीय तीन तहमा हुने बजेट निर्माण प्रक्रियाबारे किरात राई यायोक्खा केन्द्रिय कार्यसमिति काठमाडौंले जुम मार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकारका उपसचिव खिलराज राई, अनिल किराती र कोपिला राईले भर्जुअल मार्फत सम्पन्न अन्तरक्रियात्मक कार्यक्रमको सहजिकरण गरेका थिए । किरात राई कर्मचारी संघको अध्यक्ष समेत रहेका खिलराज राई राष्ट्रिय योजना आयोग, संघको महासचिव अनिल किराती उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र संघको सचिवसमेत रहेकी कोपिल राई १ नं. प्रदेशको योजना आयोगमा कार्यरत छिन्।
खिलराज राईले संघ, कोपिला राईले प्रदेश र अनिल किरातीले स्थानी तहमा निर्माण हुने बजेट र बजेट प्रक्रियाबारे प्रस्तुत गरेका थिए । बजेट निर्माण अघि नीति, नीति अनुसारको कानून, कानूनको आधारमा योजना, योजनाको आधारमा कार्यक्रम र कार्यक्रम सफल बनाउन बजेट निर्माण हुने सैद्धान्तिक बिषयबारे प्रस्तुत कर्ताहरुले जनाएका थिए । असारसम्म प्रस्तुत हुने बजेट निर्माण प्रक्रियामा माघदेखि सुरु हुने भएकोले जेठको अन्त र असारतिर योजना लिएर जानुको कुनै अर्थ नहुने प्रस्तुत उपसचिवहरुको भनाई थियो ।
बजेटभन्दा अघि दीर्घकालिन, अल्पकालिन, बार्षिक नीति, योजना निर्माण तथा पालिका स्तरसम्म कानून निर्माणमा जोड गर्नुपर्ने बताइएको थियो । नेपालमा बजेट तर्जुमाको आधारहरु, बजेटको प्रकार, बजेट तर्जुमाको प्रक्रिया र कहिले, कुन प्रकारको र कहाँ, कहाँ योजना पेस गर्नेबारे उपसचिवहरुले जुम मिटीङमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
किरात राई यायोक्खा कार्यबाहक अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय पदाधिकारी सदस्यहरु, विदेश शाखा, भातृ, भाषिक, जिल्ला र स्थानीय तहसम्मका करिब ७० जना महानुभावहरुको अन्तरक्रिया मिटीङमा सहभागि रहेका थिए। अन्तरक्रिया कार्यक्रम राजनीतिक, सामाजिक ब्यक्तिहरु, नवनिर्वाचित जनप्रतिनिधिहरुको लागि लाभदायक र प्रभावकारी भएको किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिका महासचिव जनक राईले बताए ।