
काठमाडौं – सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसै साता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।
गायक राजु लामाले ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । जहाँ उनले नयाँ गीतसहित मंगोलियन हार्टका चर्चित गीतहरु गुन्गुनाए ।
न्यानो स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’
उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।
हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफु अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।
तस्वीर उद्धव रसाईली