
२०७७ भदौ ६, शनिबार
कालीकोट/दैलेख/वीरेन्द्रनगर – लकडाउन सुरु भएदेखि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको वीरेन्द्रनगरस्थित जननमुना माध्यमिक विद्यालय जेठ अन्तिम साता खाली भयो तर, फोहोरको थुप्रोले भरिँदा सरसफाइ गर्न हम्मे भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए।
‘उनीहरूले प्रयोग गरेका ओछ्यान र लगाएका कपडासमेतले कक्षाकोठा भरिएका थिए, कोठाबाहिर पनि त्यस्तै फोहोरको थुप्रो थियो,’ उनले भने, ‘विद्यालयभित्र पस्नै नसकिने गरी फोहोर भएको थियो, हामी आफैंले सफा गर्यौं। त्यहाँ बस्नेहरूले पानीको मोटरसमेत बिगारेको उनले बताए।
करिब एक महिना क्वारेन्टाइनका रूपमा प्रयोग भएको सुर्खेतकै लेकबेंसी नगरपालिका-१, जहरेस्थित जनकल्याण आधारभूत विद्यालयको अवस्था त अझ नाजुक थियो। शिक्षक देउरूपा कठायतका अनुसार क्वारेन्टाइनमा बसेका व्यक्तिले बोतलमा शौच गरेरसमेत राखेको पाइएको थियो।
‘कुनै बोतलमा पिसाब, कुनैमा रक्सीसमेत थियो,’ उनले भनिन्, ‘हामी शिक्षकहरूले पैसा उठाएर सफा गर्न लगायौं। केहीले त बत्तीका बल्ब निकालेर लग्नुका साथै प्लगसमेत फुटालेको उनले बताइन्।
डेढ महिना क्वारेन्टाइनका रूपमा प्रयोग भएको लेकबेंसी नगरपालिका-१ को आदर्श माविमा थुप्रिएको फोहोरको डंगुर अहिलेसम्म सफा हुन सकेको छैन। त्यहाँको भौतिक संरचनामा पनि क्षति पुर्याइएको छ।
विद्यालयका प्रधानाध्यापक दुर्गा गौतमले फलामका बेन्चहरूसमेत भाँचिएको बताए। कोठाभित्रको फोहोर त सफा गरियो, बाहिर ठूला–ठूला ड्रममा राखिएको फोहोर सफा गर्न सकिएको छैन,’ उनले भने, ‘नगरपालिकाले सहयोग गर्नुपर्ने हो, अहिलेसम्म वास्ता गरेको छैन।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार लकडाउन सुरु भएदेखि जिल्लाभर १ सय ७५ वटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो। जनस्वास्थ्य प्रमुख चेतननिधि वाग्लेले अहिले १० वटा विद्यालय मात्रै क्वारेन्टाइनका रूपमा प्रयोग भएको बताए।
पछिल्लो समय क्वारेन्टाइन खाली भए पनि विद्यालयमा फोहोरको डुंगुर थुप्रिएको छ। कतिपय विद्यालयमा त्यहाँ बस्नेहरूले फर्निचरलगायत भौतिक संरचनामा क्षति पुर्याएका छन्।
शिक्षा विकास तथा समन्वय इकाइका अनुसार कालीकोटमा ७५ विद्यालय क्वारेन्टाइका रूपमा प्रयोग भएका थिए। इकाइ प्रमुख महेशदत्त देवकोटाले ती विद्यालयमा प्रदूषण हुनुका साथै बस्नेहरूले झ्याल, ढोका, डेस्क र बेन्च तोडफोड गरेको बताए। सालडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमध्वज चौलागाईंले डेस्क, बेन्च भाँचिनुका साथै फोहोरले खुट्टा टेक्ने ठाउँ नभएको बताए।
खाँडाचक्र नगरपालिकाले यहाँका १२ वटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेको थियो। सबैभन्दा बढी फोहोर र क्षति पञ्चदेव मावि, चुलिमालिका मावि, कालिका मावि र सालडाँडा आधारभूत विद्यालयमा भएको नगर शिक्षा संयोजक जशीप्रसाद चौलागाईंले बताए। उनका अनुसार क्षति भएका संरचना बनाउन नगरपालिकाले ७ लाख रुपैयाँ दिएको छ।
नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्ट क्वारेन्टाइनमा राखिएका व्यक्तिहरू अनुशासनमा नबसेकाले क्षति भएको बताउँछन्। गाउँपालिकाका मान्छेहरूलाई मान्मस्थित चन्द्रसूर्य होटलमा राख्दा सामानमा क्षति पुर्याएपछि २४ लाख रुपैयाँ थप तिर्नुपरेको उनले बताए।
दैलेखमा २ सय ४९ विद्यालयलाई क्वारेन्टाइन र आइसोलेसनका रूपमा प्रयोग गरिएको थियो। सबैभन्दा बढी चाप परेको सदरमुकामस्थित त्रिभुवन नमुना माविमा क्षति पनि बढी भएको छ।
प्रधानाध्यापक निरक तारामीले जेठ १२ गते संक्रमित व्यक्तिले आन्दोलन गर्दा बेन्च र डेस्क भाँचिएका बताए। ‘विद्यालय प्रवेश गर्ने मूलगेटसमेत भाँचेर गए, फोहोरको थुप्रो त अहिले पनि हटाउन सकिएको छैन,’ उनले भने, ‘संकटका बेला भनेर सहयोग गर्यौं, अहिले भित्र पस्नै गाह्रो हुने गरी फोहोर छ।
क्वारेन्टाइनभित्र बसेकाहरूबीच एकआपसमा मनमुटाव हुँदासमेत बेन्च, टेबुलजस्ता भौतिक सामग्रीमा क्षति पुगेको महेन्द्र माविका शिक्षक सुशील केसीले बताए। चैत यता दैलेखमा करिब १५ हजार व्यक्ति भित्रिएका थिए। उनीहरूलाई विद्यालयकै क्वारेन्टाइनमा राखिएको थियो।
जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले पछिल्लो समय विद्यालयहरूले क्वारेन्टाइन वा आइसोलेसनका रूपमा प्रयोग गर्न दिन हिचकिचाहट गर्ने गरेको बताए।
स्थानीय तहको बेवास्ता !
आपत्मा क्वारेन्टाइनका रूपमा विद्यालय भवन प्रयोग गरेका स्थानीय तहले अहिले सरसफाइ गर्न र बिग्रेका भौतिक संरचनाको क्षतिपूर्ति दिनेतर्फ बेवास्ता गर्ने गरेका छन्। पञ्चदेव मावि कालीकोटकी शिक्षक यमुना बमले विद्यालय नजिक जान डर लाग्ने गरेको बताइन्।
‘जताततै फोहोर छ, दिसापिसाब पनि यत्रतत्र देखिन्छ,’ बिहीबार मान्ममा आयोजित कोरोना कहरमा वैकल्पिक शिक्षाको निरन्तरता विषयक कार्यक्रममा उनले भनिन्, ‘यसको सरसफाइ कसले गर्ने ? बालबालिकालाई भोलि कसरी पढाउने ?
जनमाविका अध्यक्ष कोइरालाले निर्मलीकरण गर्नका लागि बारम्बार भन्दा पनि वडा कार्यालय (नगरपालिका)ले बेवास्ता गरेको बताए। सालडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक चौलागाईंले जिल्लाबाट स्वास्थ्यकर्मीको टोली गएर निर्मलीकरण नगरेसम्म अध्ययन अध्यापन सुरु गर्न सक्ने अवस्था नरहेको बताए। – कान्तिपुरबाट।
