News Portal

नयाँ नक्सा सार्वजनिक भएसँगै अब नेपालको क्षेत्रफल कति ?

संसार चन्द र रणजीत सिंहको फौजसँग नेपाली पक्ष विजयी हुननसक्दा नेपालको सीमा सतलजसम्म कायम थियो’ रतन भण्डारीले आफ्नो पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक’ मा लेखेका छन्,।’

हिमाली संचार संवाददाता
८१८ पटक
२०७७ जेठ ८, बिहिबार

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बुधबार नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन्। मन्त्री अर्यालले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसारको नक्सा सार्वजनिक गरेकी हुन्। २०३२ सालयता प्रयोग भइरहेको नेपालको नक्सामा पश्चिम लिम्पियाधुरा समेटिएको थिएन।

जबकि २ सय वर्षभन्दा पुरानो सुगौली सन्धिअनुसार लिम्पियाधुरा मुहान भएको काली (महाकाली) पूर्वका सबै भू-भाग नेपालको हो। विगतमा नेपालको नक्सामा छुटाइएका गुन्जी, नाबी, कुटीलगायतका क्षेत्र समेटेर लिम्पियाधुरा मुहान भएको काली नदी सीमा नदी हुनेगरी नक्सा जारी गरिएको मन्त्री अर्यालले जानकारी दिइन्।

हामीले पढ्दै आएको क्षेत्रफल हो, १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर। नयाँ नक्सा सार्वजनिक भएसँगै नेपालको वास्तविक क्षेत्रफल कति होला ? नेपालको नक्सा मापन गरेका नापी विभागका पूर्व महानिर्देशक पुण्यप्रसाद ओली नाप, जाँच नगरी अहिले भन्नु हतार हुने बताउँछन्। यद्यपि केही सय वर्ग किलोमिटर क्षेत्रफल जोडिने उनले जानकारी दिए।

‘सुगौली सन्धिपूर्व नेपालको पश्चिम सीमा काँगडासम्म पुग्दा कुल क्षेत्रफल ३ लाख ६७ हजार ५ सय ७५ वर्गकिलोमिटर थियो।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आएका क्षेत्रफल आधिकारिक होइनन्’ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले भने, ‘नयाँ नक्साअनुसार आधिकारिक क्षेत्रफल छिट्टै सार्वजनिक गर्छौं।’सीमा विवाद सम्बन्धमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा गठित समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा मात्रै ३ सय ९५ वर्गकिलोमिटर भू-भाग अतिक्रमणमा परेको निष्कर्ष निकालेको छ।

अतिक्रमितमध्ये ६० वर्गकिलोमिटर भूभाग नेपालको यसअघिको नक्सामै समेटिएको थियो। नेपालको पुरानो नक्सामा भएको कालापानी, लिपुलेकलगायतका क्षेत्र भारतले अतिक्रमण गरेको थियो। पुरानो नक्साअनुसार पनि कैलाश-मानसरोवर जाने सडकको १९ किलोमिटर नेपालमै पर्छ।

उपाध्याय समितिको प्रतिवेदनलाई आधार मानेर हेर्दा बुधबार सार्वजनिक राजनीतिक नक्सामा करिब ३ सय ३५ वर्गकिलोमिटर भू-भाग समेटिएको देखिन्छ। त्यसैको आधारमा कतिपयले १ लाख ४७ हजार ५ सय १६ वर्गकिलोमिटर क्षेत्रफल हुने अनुमान गरेका छन्। पूर्व महानिर्देशक ओली त्यसरी अनुमान गर्नु सही नहुने बताउँछन्।

२४ पटक नाप्दा १,४७,१८१ वर्गकिलोमिटर !

नेपालको वर्तमान क्षेत्रफल पनि २०३२ सालमै निर्धारण भएको हो। त्यसअघि ५६ हजार वर्ग माइल भनिन्थ्यो। नेपालको नक्सा तयार गर्ने बेलामा क्षेत्रफल मापन भएको ओलीले जानकारी दिए। अहिले जस्तो डिजिटल प्रविधि नभएकाले मेकानिकल र ग्रिड प्रणालीबाट क्षेत्रफल मापन गरिएको पूर्वमहानिर्देशक ओली बताउँछन्।

‘हामीले त्यतिबेला मेकानिकल र ग्रिड प्रणालीबाट मापन गरेर त्यसको मध्यम (Arithmetic mean) निकाल्यौं’ ओली भन्छन्, ‘२४ पटक नापेर १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर तय भएको हो।’ २०३२ सालअघिसम्म नेपालभन्दा बंगालादेश ठूलो भनिँदै आएको स्मरण गर्दै ओली भन्छन्, ‘वर्गकिलोमिटरमा क्षेत्रफल आएपछि भने बंगलादेशभन्दा नेपाल ठूलो भयो।’

तत्कालीन क्षेत्रफल २,०४९१७ वर्गकिलोमिटर !

राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गाउँछ गीत नेपाली’ कवितामा ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौं’ लेखेका छन्। काँगडासम्म पुग्दा नेपालको क्षेत्रफल अहिलेको भन्दा साढे दुई गुणा ठूलो भएको कतिपयको दाबी छ। ‘सुगौली सन्धिपूर्व नेपालको पश्चिम सीमा काँगडासम्म पुग्दा कुल क्षेत्रफल ३ लाख ६७ हजार ५ सय ७५ वर्गकिलोमिटर थियो।

संसार चन्द र रणजीत सिंहको फौजसँग नेपाली पक्ष विजयी हुननसक्दा नेपालको सीमा सतलजसम्म कायम थियो’ रतन भण्डारीले आफ्नो पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा–लिपुलेक’ मा लेखेका छन्, ‘नेपालको तत्कालिन क्षेत्रफल २ लाख ४ हजार ९ सय १७ वर्गकिलोमिटर थियो।’ सन् १८१४ नोभेम्बरमा सुरु भएको नेपाल–अंग्रेज युद्ध रोक्न १८१६ मा गरिएको सुगौली सन्धिका कारण नेपालको ठूलो भूभाग गुमेकोमा भने सबै इतिहासकारहरूबीच मतैक्यता देखिन्छ।

आधिकारिक क्षेत्रफल छिट्टै !

नवलपरासीको सुस्तालगायतका क्षेत्रमा पनि भारतले अतिक्रमण गरेको नेपाल पक्षको भनाइ छ तर, ती क्षेत्रहरूमा भने नेपालको नक्सा भित्रकै भू-भाग अतिक्रमणमा परेको सीमाविद्हरू बताउँछन्। नेपालको नयाँ नक्सा सार्वजनिक गरे लगत्तै सरकारले नेपालको कुल क्षेत्रफल निकाल्ने तयारी गरेको छ।

कुल क्षेत्रफलको विषयमा काम भइरहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। ‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आएका क्षेत्रफल आधिकारिक होइनन्’ प्रवक्ता जोशीले भने, ‘नयाँ नक्साअनुसार आधिकारिक क्षेत्रफल छिट्टै सार्वजनिक गर्छौं।’ अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...