News Portal

अज्ञात रोगले गोलभेँडा खेती नष्ट भएपछि किसान चिन्तित

हिमाली संचार संवाददाता
५४४ पटक
२०७७ जेष्ठ २, शुक्रबार

जाजरकोट – अज्ञात रोगले गोलभेँडा खेती नष्ट पारेपछि जाजरकोटको भेरी नगरपालिकाका किसान चिन्तित बनेका छन्। गोलभेडामा रोगको सङ्क्रमण फैलिएर बाली नै नष्ट भएपछि भेरी नगरपालिका– १, ४, ११ का किसान चिन्तित भएका हुन्।

आम्दानीको राम्रो स्रोत भएको टमाटरको बिक्रीबाट भएको आम्दानीले दैनिक घर खर्चदेखि छोराछोरी पढाउँदै आएका यहाँका किसान निकै मारमा परेका छन्। बिहीबार खेतबारीमै कृषि प्राविधिक लिएर गएकी भेरी नगरपालिका–११ की कालुदेवी पुन मगरले सबै टमाटर देखाउनुभयो।

फल लागेर लटरम्म फलेका टमाटर सबै जमिनभरि राताम्य भएर गलेको देखेपछि कृषि प्राविधिकसमेत अनौठो मान्दै हैरान भएका थिए। कृषि प्राविधिक यज्ञ अधिकारीले भन्नुभयो, “शुरुमा भएको भए केही औषधि गर्न सकिथ्यो, अब सबै फल पाकिसकेकाले केही उपाय छैन।”

यो कुरा सुनेपछि अर्का कृषक तिले रोकायले झन् चिन्ता थपिएको बताउनुभयो। उहाँले भन्नुभयो, “भेरी नगरपालिकाको पकेट क्षेत्रमा लगाएको टमाटर खेती सबै सखाप भयो, हाम्रो आम्दानीको मुख्य स्रोत बन्द भयो, अब के गर्ने ?” तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेँडा गलेपछि चिन्तित बनेको रोकायले बताउनुभयो।

जिल्लाको सबैभन्दा बढी तरकारी उत्पादन गर्ने मटेला, इवर र कालेगाउँमा लगाएको सबै टमाटर रोगले खेर गएपछि यहाँ तीन दर्जन किसान मर्कामा परेका छन्।

भेरी नगरपालिका कृषि शाखाबाट अनुदानमा वितरण भएको टमाटर बीउ पाएर राम्रो उत्पादन गर्ने उद्देश्यले भएभरको मेहनत गरेका किसान अहिले रुनु न मर्नुजस्तै भएको अर्का किसान कृष्णकला रोकायले बताउनुभयो।

बर्सेनी तरकारीमा समस्या देखिए पनि यो पटक धेरै समस्या देखिएको उहाँले बताउनुभयो। कोरोना भाइरसबाट जोगिन र जोगाउनका लागि लकडाउन हुँदा नगरपालिकाको कृषि शाखाले औषधि खरिद गर्न नसकेको जानकारी दिएको छ।

धेरै ठाउँमा औषधिका लागि सम्पर्क गर्दा पनि सम्भावना नभएपछि घरेलु विधिबाहेक अरु उपाय नभएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले बताउनुभयो। उहाँले थप्नुभयो, “अब कृषकले तरकारी खेती प्रणाली बदल्नुपर्छ।

जुन अहिले टमाटरमा देखिएको रोग छ, त्यो नयाँ खालको रोग हो। हामीजस्ता सामान्य प्राविधिकले यो केही गर्न सक्दैनाँै।” भारी जमिनमा लटरम्म फलेको टमाटर भकाभक कुहिएर झर्न थालेपछि हातमा परेको पैसा हराएको जस्तै भएको कृषकले संज्ञा दिएका दिएका छन्।

टमाटर कुहिएर झरेपछि सदरमुकाममा टमाटर पाउन मुस्किल भएको छ। टमाटरको प्रत्येक बोटमा टमाटर झरेर सोतर भएको छ।

पकेट क्षेत्रका कृषक मारमा !

भेरी नगरपालिकाले पकेट क्षेत्र घोषण गरेर अनुदानमा बीउ वितरण गरी कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यमा टमाटरमा देखिएको समस्याले अवरोध गरेको छ।

त्यस्तै अन्य फलफूल तथा तरकारी बालीमा पनि यो रोग सरेमा थप समस्या आउने कृषक बताउँछन्। पछि आउने समस्या हल गर्न सरोकारवाला निकाय चनाखो नहुने हो भने थप आर्थिक क्षति हुने आँकलन कृषकको छ।

आँप, अनार, अङ्गुर, लिचीको उत्पादनका लागि वडा नं ३, ४ र १० को भुरचौर, फेरा तथा वडा नं १३ को कुदुलाई पकेट क्षेत्र मानेर उत्पादनका काम भइरहेको छ।

त्यस्तै कागती, सुन्तलाका लागि वडा नं २ को पोख्रा, रिसाङ, ३ र ४ को सदरमुकाम, वडा नं ५ को पुम्ना, ६ को भ्यारे, वडा नं १० को नुवागाउँ पकेट क्षेत्र मानिएको छ।

तरकारीका लागि वडा नं १ को पिपे, कालेगाउँ, वडा नं २ को रिसाङ, तिलिगे, बाहुन, वडा नं ६ को भ्यार्रे, वडा नं ५ को इवर, वडा नं ६ को मटेला, कास्तरा, वडा नं १० को रावतगाउँ, आली, बाल्देतरालाई विशेष क्षेत्र मानिएको छ।

कोरोनाका कारण अन्य आर्थिक उर्पाजनको काम गर्न नपाएका कृषक कृषि क्षेत्रमा पनि रोगले सताउँदा समस्या भएको बताउँछन्। रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...