आज : २०२६-०६-१४, आइतबार

प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाउन कांग्रेस नेता कनौडियाको माग

बुटवल – प्रदेश ५ को प्रदेश सभाका प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कनौडियाले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीसंग माग गर्नु भएका छ्।

नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकासमन्त्री सुदर्शन बराललाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी बांँकेमा कोरोना संक्रमितको संख्या धमाधम बढेकाले परीक्षणको दायरा बढाउन माग गर्नु भएको हो।

नेता कनौडियाले प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव हुन नदिन पर्याप्त मात्रामा किट उपलब्ध गराउन, भारतीय सिमा क्षेत्रमा कडाई गरी कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

यस्तै कोरोना परीक्षण गर्दा कुनै जाति र समुदायलाई मात्रै लक्षित गर्दा सामाजिक सद्भाव खल्बलिन सक्ने भएकाले त्यस्तो हुन नदिन सरकार सजग हुनुपर्ने पनि नेता कनौडियाले सरकारलाई सुझाव दिनु भएको छ।

मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंगको कुराकानीमा नेता कनौडियाले कोरोना संक्रमण रोकथामका लागि प्रमुख विपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराउनु भएको छ।

संक्रमण नफैलिने गरी लकडाउनलाई खुकुलो बनाउनेतर्फ योजना बनाउन पनि नेता कनौडियाले सरकारलाई सुझाव दिनु भएको छ।

आफूसंगको कुराकानीमा मन्त्री बरालले बांकेमा मात्रै ३ सय जनाको स्याम्पल संकलन गरी परीक्षण गर्न लागिएको जानकारी गराएको नेता कनौडियाले बताउनु भयो।