आज : २०२६-११-१४, शनिबार

रतुवामाईको आमबारीमा मनोकामना दूध डेरीको मनोमानी, स्थानीय सरकार किन मौन?

मोरङ । मोरङको रतुवामाई नगरपालिका–४, आमबारीस्थित मनोकामना दूध डेरीले छठ पर्व नजिकिँदै गर्दा पूजाका लागि अत्यावश्यक मानिने दूध प्रतिलिटर १०० रुपैयाँमा बिक्री गरेको पाइएको छ। पर्वको समयमा दूधको माग बढ्ने अवस्थालाई अवसरका रूपमा प्रयोग गर्दै डेरीले आफूखुसी मूल्य निर्धारण गरेको स्थानीय उपभोक्ताहरूको आरोप छ।

स्थानीयका अनुसार डेरीले कृषकबाट प्रतिलिटर ५० रुपैयाँमा दूध खरिद गरी उपभोक्तालाई १०० रुपैयाँमा बिक्री गर्दै आएको छ। यसरी खरिद र बिक्री मूल्यबीच ठूलो अन्तर राखेर दूध बिक्री गर्दा छठ पर्वको समयमा सर्वसाधारण उपभोक्तालाई थप आर्थिक भार परेको उनीहरूको भनाइ छ।

मूल्यवृद्धिबारे स्थानीय सरकार तथा सम्बन्धित निकायले अहिलेसम्म प्रभावकारी अनुगमन र कारबाही नगरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। छठ पर्वमा दूधको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहने भएकाले मूल्यवृद्धिले उपभोक्तालाई थप मर्कामा पारेको उनीहरूको गुनासो छ।

स्थानीयले रतुवामाई नगरपालिका, उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन गर्ने निकायसँग तत्काल डेरीको अनुगमन गरी दूधको खरिद तथा बिक्री मूल्यबारे छानबिन गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।

यता, मनोकामना दूध डेरीका सञ्चालक पप्पु यादवले भने आफूहरूले प्रतिलिटर ८५ रुपैयाँमा दूध खरिद गर्ने गरेको बताएका छन्। सोही कारण प्रतिलिटर १०० रुपैयाँमा बिक्री गरेको उनले स्वीकार गरेका छन्।

उनका अनुसार डेरीले १०० देखि १५० लिटरसम्म दूध प्रतिलिटर १०० रुपैयाँका दरले बिक्री गरेको थियो। तर, मूल्यबारे विरोध भएपछि पछि प्रतिलिटर ८० रुपैयाँमा बिक्री गर्न थालेको उनले बताएका छन्।

अब प्रश्न उठेको छ—दूधको मूल्य निर्धारण र उपभोक्ता हित संरक्षणका विषयमा स्थानीय सरकार तथा सम्बन्धित निकायले कहिले प्रभावकारी अनुगमन गर्ने? उपभोक्ताको गुनासो सम्बोधन गर्न नगरपालिका किन मौन छ?