आज : २०२६-११-०२, सोमबार

श्रम संस्कृति पार्टी मकवानपुरको वार्षिकोत्सवमा बृहत् सरसफाई अभियान तथा शुभकामना आदानप्रदान

हेटौंडा । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति मकवानपुरले पार्टीको वार्षिकोत्सवको अवसरमा हेटौंडामा बृहत् सरसफाइ अभियान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

हेटौंडाको बुद्धचोकबाट सुरु भएको सरसफाइ अभियान राप्ती रोड हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि, बसपार्क क्षेत्रबाट पदमपोखरी बसपार्कसम्म पुगेर समापन भएको थियो। अभियानमा विभिन्न पालिका तथा वडाबाट आएका अगुवा श्रमदाताहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मन्दिरा मुक्तान र सुन्दर लामा, बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश ‘क’ इन्चार्ज मनी शाही, मकवानपुर जिल्ला अध्यक्ष युनेस लामा सिन्तान, हेटौंडा उपमहानगरपालिका अध्यक्ष मोहन वाइबालगायत विभिन्न पालिका तथा वडाका अगुवा श्रमदाताहरूको उपस्थिति रहेको थियो।

सरसफाइ अभियानको समापन कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष युनेस लामा सिन्तानले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृति पार्टीलाई मतदान गरी स्थानीय सरकार सञ्चालन गर्ने अवसर प्रदान गर्न जनतासमक्ष आग्रह गर्नुभयो। उहाँले श्रम, इमानदारी र जनसेवाको भावनासहित स्थानीय तहमा काम गर्ने अवसर पाए जनताको अपेक्षाअनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै अवसरमा पार्टीको वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा पार्टीको अभियान, श्रम संस्कृतिको विकास तथा आगामी राजनीतिक यात्राका विषयमा शुभकामना व्यक्त गर्दै वार्षिकोत्सव उत्साहपूर्वक मनाइएको थियो।

वार्षिकोत्सवकै अवसरमा आज साँझ ५ बजे हेटौंडाको संगमचोकमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिने जिल्ला कार्यसमितिले जनाएको छ। उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, श्रमदाताहरू तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

कार्यक्रमको सहजीकरण श्रम संस्कृति पार्टी मकवानपुरका जिल्ला सचिव युवराज राईले गर्नुभएको थियो।

श्रम संस्कृति पार्टीले श्रमको सम्मान गर्ने संस्कृतिको विकाससँगै सरसफाइ, सामाजिक सेवा, विकास निर्माण तथा जनसहभागितामूलक अभियानलाई प्राथमिकतामा राख्दै आफ्नो गतिविधि अघि बढाउँदै आएको जनाएको छ।