१८/२० वर्षदेखि अलपत्र मोटरेबल पुल, त्यसमाथि नै झोलुङ्गे पुल!

उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित शिवाई–बेल्ही जोड्ने त्रियुगा नदीमाथिको मोटरेबल पुल निर्माणमा भएको लामो ढिलाइ र त्यसपछि देखिएको अवस्थाले विकास निर्माणको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
करिब १८/२० वर्षअघि निर्माण सुरु गरिएको उक्त मोटरेबल पुल लामो समयसम्म सम्पन्न हुन सकेन। पुल सञ्चालनमा आउनुअघि नै आएको बाढीले संरचनामा क्षति पुर्याउँदै तीनवटा स्ल्याबसहित पुलका केही भाग बगाएको थियो।
अझ विडम्बनापूर्ण अवस्था त के छ भने, करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको पक्की पुल पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा अहिले त्यही पुलमाथि झोलुङ्गे पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस घटनाले सार्वजनिक बजेटको सदुपयोग, निर्माणको गुणस्तर, प्राविधिक डिजाइन तथा सम्बन्धित निकायको जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ।
आखिर यति लामो समयसम्म पुल किन सम्पन्न हुन सकेन? निर्माण कार्यमा ढिलाइ हुनुको कारण के थियो? बाढीले पुलका संरचना बगाउनुमा प्राकृतिक विपद् मात्र जिम्मेवार थियो कि निर्माण तथा प्राविधिक पक्षमा पनि कमजोरी थियो? राज्यको करोडौँ रुपैयाँ लगानीबाट भएको क्षतिको जिम्मेवारी कसले लिने?
यी सबै विषयमा निष्पक्ष प्राविधिक तथा प्रशासनिक छानबिन आवश्यक देखिन्छ। सम्बन्धित ठेकेदार, निर्माण कम्पनी, डिजाइनकर्ता, प्राविधिक तथा जिम्मेवार सरकारी निकायको भूमिकासमेत स्पष्ट हुनुपर्छ।
दोषी प्रमाणित हुने जो–कोहीलाई कानुनअनुसार कारबाही गरी सार्वजनिक सम्पत्तिको क्षतिबारे जवाफदेही बनाउनुपर्छ।
पुलमाथि झोलुङ्गे पुल बन्नु केवल अनौठो दृश्य मात्र होइन, यो वर्षौँदेखि अलपत्र विकास आयोजना, सार्वजनिक लगानीको उपयोग र राज्यको जवाफदेहितासँग जोडिएको गम्भीर विषय हो।
अब प्रश्न उठाउने मात्र होइन, सम्बन्धित निकायले जवाफ दिने बेला आएको छ। जनताको करबाट खर्च भएको रकमको हिसाब खोजिनुपर्छ, सत्यतथ्य बाहिर ल्याइनुपर्छ र कमजोरी गर्नेहरूलाई कानुनी दायरामा ल्याइनुपर्छ।



















