आज : २०२६-१०-३०, शुक्रबार

रतुवामाईमा प्रहरीको गोली लागेर दुई भारतीय नागरिक घाइते, तीन जना पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–६ स्थित शनिश्चरेमा बिहीबार राति प्रहरीले गोली चलाउँदा दुई भारतीय नागरिक घाइते भएका छन्।

लागुऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट करिब ५०० ग्राम ब्राउन सुगर, एक थान घरेलु पेस्तोल, गोली तथा दुईवटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि भाग्न खोज्नुका साथै गोली प्रहार गर्ने प्रयास भएपछि आत्मरक्षाका लागि आठ राउन्ड गोली चलाइएको थियो।

गोली लागेर घाइते हुनेमा भारतीय नागरिक २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक रहेका छन्। दुवै जनाको घुँडामुनि गोली लागेको र हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–१ का ३५ वर्षीय प्रमोद ठाकुरसहित तीन जना रहेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।