आज : २०२६-०९-२०, आइतबार

कुवेतमा उपचाररत नेपालीलाई युवा शक्ति कुवेतको १०७.५० केडी सहयोग

कुवेत, – स्वास्थ्य समस्याका कारण कुवेतमा उपचाररत ४५ वर्षीय नेपाली नागरिक एमडी कलामुद्दिनलाई युवा शक्ति कुवेतले १०७.५० कुवेती दिनार (केडी) आर्थिक सहयोग प्रदान गरेको छ।

उपचारका क्रममा आर्थिक समस्या भोगिरहेका कलामुद्दिनलाई केही राहत पुगोस् भन्ने उद्देश्यले युवा शक्ति कुवेतको पहलमा उक्त सहयोग उपलब्ध गराइएको हो। सहयोग हस्तान्तरण गर्दै संस्थाले कलामुद्दिनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

युवा शक्ति कुवेतले प्रवासमा विभिन्न समस्या तथा कठिनाइमा परेका नेपालीहरूलाई आवश्यकता र परिस्थितिअनुसार मानवीय सहयोग गर्दै आएको जनाएको छ।

संस्थाका तर्फबाट पवल राईले उपचाररत कलामुद्दिनलाई सहयोग आवश्यक रहेको जानकारी प्राप्त भएपछि नेपाली समुदायसम्म सहयोग पुर्‍याउने उद्देश्यले पहल गरिएको बताए।

प्रवासमा समस्यामा परेका नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु सबैको साझा मानवीय दायित्व रहेको उल्लेख गर्दै युवा शक्ति कुवेतले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सहयोग तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने जनाएको छ।