धादिङका नवराज अधिकारी जिल्ला समन्वय समिति महासंघ नेपाल बागमती प्रदेश अध्यक्षमा सर्वसम्मत चयन

धादिङ। जिल्ला समन्वय समिति महासंघ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्।
भक्तपुर जिल्ला समन्वय समितिको व्यवस्थापनमा सम्पन्न जिल्ला समन्वय समिति महासंघ नेपाल बागमती प्रदेश समितिको भेलाले अधिकारीको अध्यक्षतामा नयाँ प्रदेश समिति सर्वसम्मत रूपमा गठन गरेको हो।
भेलामा बागमती प्रदेशका सबै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने, अनुभव आदानप्रदान गर्ने तथा स्थानीय शासन प्रणालीलाई अझ सुदृढ र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
नवनिर्वाचित अध्यक्ष नवराज अधिकारीले बागमती प्रदेशका सबै जिल्ला समन्वय समितिहरूबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय शासनलाई प्रभावकारी बनाउन महासंघले समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सबै जिल्लाको साझा हितका लागि सक्रियतापूर्वक अघि बढ्ने बताए।
नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशका जिल्ला समन्वय समितिहरूबीच आपसी सहकार्यलाई थप मजबुत बनाउँदै स्थानीय विकास, सुशासन र संस्थागत क्षमता अभिवृद्धिमा महासंघले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

















