पहिरोको जोखिममा परेको परिवारलाई नेपाल रेडक्रस फुलखर्क उपशाखाद्वारा त्रिपाल सहयोग

धादिङ, गंगाजमुना। नेपाल रेडक्रस सोसाइटीको मूल मन्त्र “जहाँ विपत्ति, त्यहीँ रेडक्रस” लाई आत्मसात गर्दै नेपाल रेडक्रस सोसाइटी, फुलखर्क उपशाखाले पहिरोको उच्च जोखिममा परेको एक परिवारलाई राहतस्वरूप एक थान त्रिपाल उपलब्ध गराएको छ।
मिति २०८३ साउन १० गते परेको अविरल वर्षापछि गंगाजमुना गाउँपालिका लप्सीबोट निवासी निवासी मनकुमारी गुरुङको घरअगाडिको आँगनमा पहिरोको जोखिम बढ्दै जाँदा घर नै असुरक्षित बनेको थियो। त्यसपछि पीडित परिवारले सम्बन्धित वडा शाखा तथा नेपाल प्रहरीसमक्ष आवश्यक सहयोगका लागि निवेदन दिएका थिए।
निवेदन प्राप्त भएपछि नेपाल रेडक्रस सोसाइटी, फुलखर्क उपशाखाका वडा सभापति चेतनाथ तिमल्सिना, सचिव मिनबहादुर बानियाँ तथा नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा थप क्षति हुन सक्ने जोखिम देखिएपछि प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले उपशाखाबाट एक थान त्रिपाल हस्तान्तरण गरिएको हो।
नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला पीडित नागरिकको साथमा रही मानवीय सेवामा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै आवश्यकता अनुसार राहत तथा उद्धारका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
राहत प्राप्त गरेपछि पीडित मनकुमारी गुरुङले समयमै सहयोग उपलब्ध गराएकोमा नेपाल रेडक्रस सोसाइटी, फुलखर्क उपशाखाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्तो सहयोगले कठिन परिस्थितिमा ठूलो राहत पुगेको बताएकी छन्।

















