भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ७० वटा ब्रोइलर कुखुरा बरामद

मोरङ – रंगेली नगरपालिका–५ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ७० वटा ब्रोइलर कुखुरा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्पप्रसाद न्यौपानेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले बिहीबार बिहान करिब १०ः२० बजे भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको अवस्थामा BR 38 AP 1571 नम्बरको भारतीय मोटरसाइकललाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालक कुखुरा तथा मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको मोटरसाइकलको अनुमानित मूल्य रु. १ लाख ५० हजार र करिब १८० किलोग्राम तौल भएका ७० वटा ब्रोइलर कुखुराको मूल्य रु. ५४ हजार गरी कुल रु. २ लाख ४ हजार बराबरको सामान बरामद भएको बताइएको छ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएको ब्रोइलर कुखुरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको छ भने मोटरसाइकललाई थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी तथा गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती र चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।


















