महालक्ष्मी माविमा निर्वाचन प्रक्रियामार्फत क्याप्टेन र उपक्याप्टेन छनोट

मोरङ– रंगेली नगरपालिका–८, दर्वेशा चोकस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लोकतान्त्रिक अभ्यासको व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालय क्याप्टेन तथा उपक्याप्टेन (भाइस क्याप्टेन) चयनका लागि निर्वाचन कार्यक्रम सम्पन्न गरिएको छ।
शैक्षिक सत्र २०८३ का लागि आयोजित निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मतदाता बनेर आफ्नो मताधिकार प्रयोग गरेका थिए। वास्तविक निर्वाचनको झल्को दिने गरी उम्मेदवारी दर्ता, प्रचारप्रसार, गोप्य मतदान तथा मतगणना प्रक्रिया सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा शिक्षक चिरञ्जीवी काफ्लेले लोकतन्त्र र निर्वाचनसम्बन्धी ज्ञान पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यवहारमा समेत उतार्न आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई निर्वाचन प्रक्रियामा प्रत्यक्ष सहभागी गराउँदा मतदानको महत्व, नेतृत्व चयनको प्रक्रिया, नागरिक जिम्मेवारी तथा लोकतान्त्रिक मूल्य–मान्यता सहज रूपमा सिक्न सकिने उल्लेख गर्नुभयो।
“निर्वाचनका विषयहरू किताबमा पढेर मात्र पर्याप्त हुँदैन। विद्यार्थीहरूले व्यवहारमै अभ्यास गर्दा सिकाइ अझ प्रभावकारी र दीर्घकालीन हुन्छ,” काफ्लेले भन्नुभयो।
विद्यालयका अनुसार निर्वाचन प्रक्रियाबाट चयन भएका क्याप्टेन र उपक्याप्टेनले विद्यालयभित्र अनुशासन कायम राख्न, विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न तथा विद्यार्थीहरूको नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।
निर्वाचनमा सहभागी विद्यार्थीहरूले पनि पहिलो पटक वास्तविक निर्वाचनजस्तै वातावरणमा मतदान गर्न पाउँदा उत्साह व्यक्त गरेका थिए। उनीहरूले मतदान प्रक्रियामार्फत आफ्नो प्रतिनिधि छनोट गर्न पाउँदा लोकतान्त्रिक अभ्यासबारे थप बुझ्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन्।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, जिम्मेवारीबोध तथा लोकतान्त्रिक संस्कारको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता व्यवहारिक तथा शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


















