इन्सपेक्टर सन्तोष खड्का ‘उत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मानित

काठमाडौं -काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार खड्का जेठ महिनाको “उत्कृष्ट प्रहरी” सम्मानबाट सम्मानित भएका छन्।
कर्तव्यनिष्ठा, इमान्दारिता, व्यावसायिक दक्षता तथा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। अपराध अनुसन्धान तथा शान्ति–सुरक्षाको क्षेत्रमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।

यसअघि २०८१ सालमा इलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत रहँदा पनि उनले अपराध नियन्त्रण, अनुसन्धान तथा नागरिक सुरक्षाका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए। जिम्मेवारीप्रति समर्पित रहँदै व्यावसायिक ढंगले कार्यसम्पादन गरेको मूल्यांकनपछि उनी उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका हुन्।
प्रहरी निरीक्षक खड्काले नागरिकको सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमा पुर्याएको योगदान प्रहरी संगठनका लागि प्रेरणादायी रहेको बताइएको छ। उक्त सम्मानले आगामी दिनमा अझ उच्च मनोबलका साथ राष्ट्र, समाज र नागरिकको सेवामा समर्पित भई काम गर्न थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
















