आज : २०२६-०६-१५, सोमबार

धम्की र चरित्रहत्याविरुद्ध खुस्बु ओली साइबर ब्युरो पुगिन्, एक जना पक्राउ

काठमाडौं, – प्रतिनिधिसभा सदस्य खुस्बु ओली ले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या तथा ज्यान मार्ने धम्कीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। उजुरीपछि एक जना व्यक्ति पक्राउ परिसकेको जानकारी दिइएको छ।

ओलीले विगत केही सातादेखि संसदमा उठाएका जनचासोका विषयहरूको प्रतिक्रियास्वरूप सामाजिक सञ्जालमा संगठित रूपमा आक्रमण, अपमानजनक टिप्पणी र घृणायुक्त अभिव्यक्तिहरू भइरहेको बताएकी छन्। उनका अनुसार सयौँबाट सुरु भएका यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको संख्या हजारौँसम्म पुगेको छ।

उनले व्यक्तिगत मोबाइल फोन, म्यासेन्जर तथा अन्य माध्यमबाट बलात्कार, ज्यान मार्ने र भौतिक आक्रमणका धम्कीपूर्ण सन्देशहरू समेत प्राप्त भएको उल्लेख गरेकी छन्। यस विषयमा साइबर ब्युरोमा उजुरी दर्ता गरिएपछि एक जना व्यक्ति पक्राउ परेर कानुनी प्रक्रियामा रहेको बताइएको छ।

ओलीले लोकतन्त्रमा नागरिकहरूले आफ्नो विचार, धारणा वा राजनीतिक भूमिकाको कठोर आलोचना गर्न सक्ने अधिकार रहेको स्वीकार गर्दै धम्की, घृणायुक्त अभिव्यक्ति, गालीगलौज, चरित्रहत्या र हिंसाको उक्साहट भने कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेकी छन्।

उनले टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा आफ्नो बारेमा घृणा फैलाउने सामग्री पोस्ट, सेयर वा टिप्पणी गर्नेहरूलाई त्यस्ता सामग्री तत्काल हटाउन चेतावनी दिएकी छन्। अन्यथा कानुनी कारबाहीको सामना गर्नुपर्ने उनको भनाइ छ।

“सामाजिक सञ्जालमा हुने दुर्व्यवहार, धम्की र घृणायुक्त अभिव्यक्तिप्रति मेरो शून्य सहनशीलता रहनेछ,” ओलीले भनेकी छन्।

साथै उनले सामाजिक सञ्जालमा फैलिरहेको घृणाको संस्कृति र अराजक व्यवहारलाई सामान्यीकरण गर्न नहुने बताउँदै अभिव्यक्ति स्वतन्त्रताको नाममा हिंसा, घृणा र दुर्व्यवहार स्वीकार गर्न नसकिने धारणा व्यक्त गरेकी छन्।

यस विषयमा आवश्यक पहल गरेको भन्दै उनले गृहमन्त्री तथा नेपाल प्रहरीको साइबर ब्युरोप्रति आभार व्यक्त गरेकी छन्।