आज : २०२६-०६-१३, शनिबार

कागजात सबै खरानी भए’ भन्दै प्रधानमन्त्री कार्यालयले फर्कायो विवरण माग्नेहरूलाई

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यालयका महत्वपूर्ण कागजात जलेर नष्ट भएको जनाएको छ।

सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका पूर्वपदाधिकारी, स्वकीय सचिव तथा सल्लाहकारहरूको विवरण माग्न थालेपछि प्रमाणिकरणका लागि प्रधानमन्त्री कार्यालय पुग्नेहरूको संख्या बढेको छ। तर कार्यालयले आवश्यक अभिलेख उपलब्ध गराउन नसक्ने भन्दै सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराइरहेको स्रोतले जनाएको छ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले २०४८ सालयता सार्वजनिक पदमा रहेका व्यक्तिहरू तथा सरकारी तलब सुविधा लिएका स्वकीय सचिव र सल्लाहकारहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको छ। आयोगले विवरण मागेपछि पूर्वपदाधिकारीहरू आफूले पाएको तलब तथा सेवा अवधिको प्रमाणिकरणका लागि प्रधानमन्त्री कार्यालय धाउन थालेका हुन्।

एक पूर्वप्रधानमन्त्रीका सल्लाहकारले आफूले तलबसम्बन्धी प्रमाणिकरण माग्दा प्रधानमन्त्री कार्यालयबाट जेनजी आन्दोलनका क्रममा कागजात जलेर नष्ट भएको जानकारीसहितको पत्र प्राप्त गरेको बताए। उनका अनुसार कार्यालयले सम्बन्धित अभिलेख उपलब्ध नभएकाले प्रमाणिकरण गर्न नसकिने व्यहोरा उल्लेख गरेको छ।

ती सल्लाहकारले प्राप्त पत्र आयोगमा बुझाएर आवश्यक विवरण पेश गर्ने तयारी गरेको बताएका छन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय लगायत विभिन्न सरकारी कार्यालयमा तोडफोड, आगजनी तथा विस्फोटका घटना भएको बताइएको छ। त्यस क्रममा महत्वपूर्ण सरकारी अभिलेखहरू नष्ट भएको जानकारी प्रधानमन्त्री कार्यालयले नै दिन थालेपछि यो विषय पुनः चर्चामा आएको छ।

पूर्वमन्त्री, पूर्वसचिवालयका कर्मचारी तथा सल्लाहकारहरू विगतको सेवा विवरण प्रमाणित गर्न सरकारी कार्यालय पुग्ने क्रममा कागजात नष्ट भएको तथ्य सार्वजनिक भएको हो।