
काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक दलका नेताहरूले प्रशंसा गरेका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित भेटघाटमा नेताहरूले निर्वाचनले मुलुकलाई राजनीतिक अन्योलबाट बाहिर ल्याएको बताएका हुन्।
प्रधानमन्त्री कार्कीको निमन्त्रणामा भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नारायणकाजी श्रेष्ठ र वर्षमान पुनलगायत नेताहरू सहभागी थिए। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, निर्वाचन प्रक्रिया र आगामी रणनीतिका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दलले खेलेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरिन्। उनले लोकतान्त्रिक विधिबाट देशलाई निकास दिन निर्वाचन महत्त्वपूर्ण आधार बनेको उल्लेख गर्दै विजयी उम्मेदवारहरूलाई बधाइ तथा अन्यलाई शुभकामना दिइन्।
नेताहरूले पनि प्रधानमन्त्रीको दृढता र नेतृत्व क्षमताका कारण छोटो अवधिमै निर्वाचन सम्पन्न हुन सकेको बताएका थिए। संयोजक प्रचण्डले समयमै निर्वाचन नभएको भए देश गम्भीर दुर्घटनातर्फ जान सक्ने अवस्था रहेको उल्लेख गर्दै निर्वाचन सफल बनाउनु ठूलो उपलब्धि भएको बताए।
पूर्वप्रधानमन्त्री नेपालले जटिल राजनीतिक परिस्थितिमा पनि सरकारको नेतृत्व प्रभावकारी देखिएको प्रतिक्रिया दिए। प्रधानमन्त्री कार्कीको इमान्दारिता र दृढ अडानका कारण मुलुकले स्थिरता पाएको उनको भनाइ थियो।