कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका दिन सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागतका रूपमा तमू प्ये ल्हु संघ कुवेतको आयोजनामा तमू ल्होसार शुभकामना आदान–प्रदान तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम २०२६ जनवरी ९ तारिख सालमियास्थित गोर्खा किचेनमा भव्य रूपमा सम्पन्न भयाे।
तमू प्ये ल्हु संघ कुवेतका अध्यक्ष केश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अमन गुरुङले गरेका थिए भने स्वागत मन्तव्य सचिन गुरुङले व्यक्त गरेका थिए। कुवेतमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरूको उपस्थिति थियो।
कार्यक्रममा स्थानीय कलाकारहरूले तमू समुदायको मौलिक पहिचान झल्किने नृत्य तथा गीत प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। सहभागीहरू परम्परागत तमू भेषभूषामा सजिएर उपस्थित हुँदा कार्यक्रम अझ आकर्षक बनेको थियो। यस अवसरमा विभिन्न कलाकार तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो।
“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए परम्परा हराउँछ, परम्परा हराए मान्छेको पहिचान र अस्तित्व हराउँछ” भन्ने मूल नाराका साथ धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोड दिँदै कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रममा सहभागी सबैका लागि खानपिनको व्यवस्था गरिएको थियो। तमू समुदायको एकता, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्पन्न यस कार्यक्रमले कुवेतमा रहेका नेपाली तमू समुदायबीच उत्साह र उमंग थपेको आयोजकको भनाई छ।










