News Portal

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

१५६ पटक

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन गर्ने विषयमा दलहरूबीच गृहकार्य सुरु भएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच गठबन्धनबारे छलफल अघि बढेको हो।

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्ति एकजुट हुन थालेपछि प्रमुख दलहरूले पनि आपसी सहकार्यको सम्भावना खोज्न थालेका छन्। राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धन बनिसकेको छ। सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेकपासहितको गठबन्धन बने पनि सिट बाँडफाँटमा सहमति नजुटेपछि नेकपा पछि हटेको थियो।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको स्रोतको दाबी छ। पार्टीभित्रबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताले एमालेसँग गठबन्धन नगर्न दबाब दिँदै आए पनि देउवा ओलीसँग सहकार्यको पक्षमा देखिएका छन्।

स्रोतका अनुसार १६५ निर्वाचन क्षेत्रमा सिट बाँडफाँटका विभिन्न विकल्पमा छलफल भइरहेको छ। १६४ सिटलाई कांग्रेस र एमालेले ८२–८२ सिट लिने, कतिपय स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने तथा बाँकीमा आधा–आधा सिट भागबण्डा गर्ने प्रस्तावमाथि विचार भइरहेको छ। अर्को विकल्पका रूपमा २०७९ को निर्वाचनमा जितेको दललाई सोही क्षेत्रमा समर्थन गर्ने र बाँकी सिट मतप्रतिशतका आधारमा बाँड्ने प्रस्ताव पनि छलफलमा छ। भक्तपुर–१ बाहेक अधिकांश क्षेत्रमा गठबन्धनको सम्भावना रहेको बताइएको छ।

दलहरूको आन्तरिक अध्ययनअनुसार शहरी क्षेत्रमा रास्वपा, सुदूरपश्चिम र कर्णालीमा नेकपा, मधेशमा जसपा, आजपा र जनमत पार्टी तथा पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ।

यसैबीच, चुनावी चहलपहल बढिरहेका बेला प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष ओलीबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टाभन्दा बढी एक्लाएक्लै भेटवार्ता भएको छ। जेनजी आन्दोलनपछि सत्ता गुमाएका ओलीले यसअघि कार्की नेतृत्वको सरकार अवैध भएको आरोप लगाउँदै आएका थिए। तर पछिल्लो भेटवार्तालाई आगामी निर्वाचन केन्द्रित र अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्की र ओलीबीच आगामी चुनावको वातावरण, राजनीतिक सहकार्य र समग्र परिस्थितिबारे छलफल भएको हो।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...