News Portal

नेपालमै पहिलोपटक मस्तिष्क मृत व्यक्तिबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण सफल — अंगदानको महत्व फेरि एकपटक उजागर

हिमालीसंचार संवाददाता
२७७ पटक

काठमाडौं, जेठ ११ – नेपालको चिकित्सा इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरेर चिकित्सकीय सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ।

चिकित्सकहरूका अनुसार यस्तो दुर्लभ किसिमको शल्यक्रिया संसारभरि नै विरलै मात्र हुने गर्दछ। ‘यो संसारकै जटिल शल्यक्रियामध्ये एक हो, जुन एकसाथ दुई महत्त्वपूर्ण अंग प्रत्यारोपण गर्नुपर्छ,’ केन्द्रका निर्देशक तथा वरिष्ठ शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले हिमाली सञ्चारसँग बताए।

जेठ १ गते मस्तिष्क मृत्यु भएका १८ वर्षीय पुरुषबाट प्राप्त दुई मिर्गौला र एक कलेजोमध्ये एक मिर्गौला र कलेजो एउटै बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो भने अर्को मिर्गौला ४२ वर्षीया महिलामा प्रत्यारोपण गरिएको हो। हाल दुबै बिरामीहरू स्वास्थ्यलाभ गरिरहेका छन् र चाँडै डिस्चार्ज हुने तयारीमा छन्।

यो अद्वितीय शल्यक्रिया काठमाडौं मेडिकल कलेजको समन्वयमा सम्पन्न भएको हो। प्रत्यारोपण टोलीको नेतृत्व डा. श्रेष्ठले गरेका थिए भने कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले सहकार्य गरेका थिए। मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रुपेश कुमार झा, डा. हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा. विकास खड्कालगायतको टोली संलग्न थियो।

एनेस्थेसिया, क्रिटिकल केयर र नेफ्रोलोजी विभागका विज्ञहरू समेतको समर्पणले यो शल्यक्रिया सम्भव भएको हो।

शहीद धर्मभक्त केन्द्रले मस्तिष्क मृत व्यक्तिबाट अंग संकलन र प्रत्यारोपणको अभ्यास पहिलेदेखि गर्दै आएको भए पनि एकैपटक मिर्गौला र कलेजो एउटै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गर्नु नेपाली स्वास्थ्य प्रणालीको प्रगतिशीलताको प्रमाण हो।

वि.सं. २०७३ मा दक्षिण कोरियाली टोलीको सहायतामा पहिलोपटक कलेजो प्रत्यारोपण गरेपछि नेपाली चिकित्सकहरूले २०७५ मा आफैंले पहिलोपटक प्रत्यारोपण गर्न सफल भएका थिए। हालसम्म ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ, जसमा तीन वर्षका बालकदेखि ६८ वर्षसम्मका व्यक्तिहरू समावेश छन्।

केंद्रका अनुसार हालसम्म मस्तिष्क मृत्यु भएका ६ जना व्यक्तिबाट १२ जनामा मिर्गौला र ४ जनामा कलेजो प्रत्यारोपण गरिएको छ।

सडक दुर्घटनाबाट हरेक दिन ४ देखि ६ जनाको मृत्यु हुने तथा वार्षिक काठमाडौँ उपत्यकामै झण्डै हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमानलाई ध्यान दिँदा, अंगदानको संभावना विशाल छ।

‘मस्तिष्क मृत्यु भएपछि जीवन बाँच्दैन, तर अंगहरू बाँचेर अरूलाई नयाँ जीवन दिन सक्छन्। एक व्यक्तिको अंगबाट आठ जनासम्मलाई जीवन दिन सकिन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘त्यसैले अंगदानको स्वीकृति नै सबैभन्दा ठूलो महादान हो।’

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...