
काठमाडौं, जेठ १ – प्रतिनिधिसभाका तीन जना सांसद हाल निलम्बनमा परेका छन् भने एक जना फरार अवस्थामा छिन्। ती सांसदहरू विभिन्न आपराधिक तथा आर्थिक अनियमिततामा संलग्न रहेको आरोपमा कारबाहीको घेरामा परेका हुन्।
नवीनतम रूपमा नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स काण्डमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो। उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने निलम्बनमा परेका छन्। चितवन २ बाट निर्वाचित लामिछानेमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि ८ पुस २०८१ देखि निलम्बनमा रहेका छन्।
यस्तै, नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रतिनिधिसभाबाट निलम्बनमा परेका हुन्।
सांसदहरूमध्ये एक जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत भने फरार अवस्थामा छिन्। उनीमाथि विभिन्न सहकारी संस्थाबाट करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएयता उनी सम्पर्कविहीन छिन्।
छिपछिपे उपभोक्ता सहकारी, चितवनको सनराइज सहकारी र बर्दियाको नमस्ते सहकारीमा भएका अनियमितता प्रकरणमा उनको नाम जोडिएको छ। प्रहरी अनुसन्धान अनुसार, ती सहकारी संस्थाबाट निकालेको झण्डै १६ करोड ५८ लाख रुपैयाँ बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी गरिएको थियो, जहाँ बस्नेत स्वयं सञ्चालक रहिएकी थिइन्।
फरार भए पनि सांसद बस्नेतले एक वर्षको अवधिमा १० लाखभन्दा बढीको तलब भत्ता लिएको तथ्य सार्वजनिक भइसकेको छ।