सिराहाका सिडिओ बासुदेव दाहाल गृह मन्त्रालय तानिए

सिराहा, चैत्र ८ – सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव दाहाललाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ। शुक्रबार बिहान गृह मन्त्रालयले उनलाई तान्दै नयाँ सिडिओको रूपमा विश्वप्रकाश अर्याललाई सिराहा पठाएको छ। अर्याल यसअघि कपिलवस्तुमा सिडिओको रूपमा कार्यरत थिए।
औरही गाउँपालिका-५ मा दलित समुदायका दीपक मल्लिकको घर भत्काइएको घटनामा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेपछि सरकारले दाहाललाई फिर्ता बोलाएको हो। स्थानीयबासीहरूले मल्लिकको घर भत्काइएकै स्थानमा चैत १७ गतेदेखि महायज्ञ आयोजना गर्न लागिएको भन्दै आपत्ति जनाएका छन्।
घटनाले चर्को विवाद निम्त्याएपछि गृहमन्त्री रमेशले नेपाल प्रहरीका महानिरीक्षक (आईजिपी) दीपक थापालाई छानबिनको निर्देशन दिएका छन्। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित समेत बिहीबार घटनास्थल पुगेर वास्तविकता बुझ्ने प्रयास गरेका छन्।

















