एजेन्सी : बंगलादेशले आफ्नो सबैभन्दा ठुलो संरचना निर्माणको काम आफैं सम्पन्न गर्ने भएको छ । चीनमाथि ऋणको माध्यमबाट साना मुलुकहरुलाई ऋणको जालमा फसाइरहेको आरोप लागिरहेको अवस्थामा बंगलादेशले यस्तो निर्णय गरेको हो । यसअघि मलेसियाले पनि चीनको योजनाबाट बाहिरिने निर्णय गरेको थियो ।
बंगलादेशको यस वर्षका सबैभन्दा ठूलो संरचना निर्माणको योजनाको रुपमा रहेको पद्मा नदीमा निर्माण गरिन लागेको २० किलोमिटरको पुल आफैं निर्माण गर्ने भएको हो । यो पुलमा दुई रेल तथा दुई सडक मार्ग रहनेछन् । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले यो योजनाको लागि ३० करोड स्थानीय मुद्रा खर्च हुने अनुमान गरेकी छिन् ।
सो योजना कहिले पूरा हुने हो भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । यस विषयका जानकार रहेका एक व्यक्तिले यसका लागि कुनै पनि मुलुकबाट आर्थिक सहायता नलिइएको बताएका छन् ।
बंगलादेशले आफैंले निर्माण गर्ने तयारी गरेको यो पुलले दक्षिण–पूर्वी एसियालाई जोड्नेछ । यसका लागि सबैभन्दा पहिले विश्व बैंकसँग सहयोग माग गरिएको थियो ।
यो पुलले बंगलादेशको राजधानी सहरलाई मुलुकको आर्थिक हिसाबमा पछि परेको पश्चिम क्षेत्रसँग पनि जोड्न सकिने बताइएको छ । यसअघिको सरकारले यो पुलबाट बंगलादेशको सम्प्रुभतामा असर पर्नसक्ने बताएको थियो । अहिलेको सरकार भने यो पुलको योजनाले मुलुकलाई उल्लेख्य सहयोग पुग्ने बताउँदै आएको छ ।