गाई पालेर फेरियो तुलसीप्रसादको जीवन : विदेशको भन्दा तेब्बर कमाई
सुरेन्द्र भण्डारी
सुरुङ्गा– एउटा सामान्य परिवारका लागि डेढ दशकअघि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मेहम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् बाह्रदशी गाउँपालिका–३ राजगढका तुलसीप्रसाद ढकाल ।
आर्थिक अवस्था कमजोर भएकाले मेची बहुमुखी क्याम्पस भद्रपुरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै धन कमाउने रहरले उनी विदेशिए । ‘फ्याक्ट्री वर्कर’ कामका लागि उनले २०६० सालमा एक लाख १५ हजार रुपैयाँ ऋण लिएर मेनपावरलाई बुझाउँदै वैदेशिक रोगजारीका लागि मलेसिया पुगे ।
चार वर्षसम्म मलेसियामा काम गरेका ढकालले मासिक ३० हजार रुपैयाँ मुस्किलले बचाउँथे । विदेशमा कडा मेहनत र परिश्रम गर्दा कमाइ सोचे जस्तो नभएपछि ढकालले स्वदेश फर्केर २०६५ सालबाट व्यावसायिक पशुपालन शुरु गरे ।
दुई÷दुई माऊ गाई र भैंँसी पालेर व्यवसाय शुरु गरेका ढकालको गोठमा अहिले १० उन्नत जातका गाई छन् । सोही गाईको दूध बेचेर ढकालले अहिले मासिक एक लाख रुपैयाँ बचत गर्दै आएका छन् । विदेशमा आफूले चार वर्षसम्म गरेको दुःख सम्झँदै ढकाल भन्छन्, ‘विदेशमा जस्तो दुःख गर्नु पनि पर्दैन, कमाइ पनि यहीँ धेरै हुन्छ ।’
होलस्टेन, ब्राउन स्वीस र अमेरिकन जर्सी जस्ता उन्नत जातका गाईपालन गर्दै आएका ढकालले आफ्नो फार्ममा उत्पादन भएको दूध नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले सञ्चालनमा ल्याएको डेरीलाई घरैबाट बिक्री गर्दै आएका छन् । हिमाल, अञ्जनी र तुलसीका नामबाट ढकालले ‘हिमअतुल’ गाई फार्म दर्ता गरेर व्यवसाय शुरु गरेपछि छरछिमेकले समेत सिको गर्दै उन्नत जातका गाईपालन गर्दै आएका छन् । ढकालले पालेको एक माऊ गाईले २२ लिटरसम्म दूध दिन्छ ।
ढकालले अहिले गाई मात्रै पाल्नुहुन्छ । गाई वर्षेनी ब्याउँछन् तर भैंसी लामो समयसम्म थारै बस्छन् । ढकालले भने, ‘यसले हामी जस्ता सामान्य कृषकलाई फाइदा गर्दैन ।’
उही स्याहार, चोकरमा गाईले धेरै दूध दिन्छ तर भैंसीले कम दूध दिँदा कृषकलाई सोचे अनुरुपको नाफा हुँदैन ढकाल भन्छन्, ‘भैँसी भन्दा गाईबाट बढी नाफा हुने भएपछि मैले भैसी पाल्न छाडेको हुँ, पाल्न पनि भैँसी भन्दा गाई धेरै सजिलो हुँदोरहेछ ।’ पशु विशेषज्ञताको प्रमाणपत्र नभएपनि उनीमा कुनै पशु चिकित्सकको भन्दा कम ज्ञान छैन । कामलेनै मानिसलाई जान्ने बनाउँदोरहेछ । उनले भने, ‘कुनै गाईलाई असहज भए के भयो भनेर तत्काल पत्ता लगाएर औषधि गर्नसक्छु ।’
एउटा स्वस्थ्य पशुलाई दैनिक २५ देखि २८ प्रतिशतसम्म प्रोटिन आवश्यक पर्छ । शहरमा दानापानी र परालको भरमा पशुपालन व्यवसाय गरिन्छ । अहिले शहरका धेरै पशुपालक कृषक पलायन हुन थालेका छन् । यसको मुख्य कारण भनेको घाँस खाने गाईलाई दानापानीले मात्र हुँदैन । ढकाल भन्छन्, ‘घाँस खाने जातलाई पराल र दानापानी मात्र दिएर कसरी राम्रो दूघ उत्पादन गर्न सकिन्छ ?’
परालभन्दा पशुलाई घाँस नै दिनु राम्रो हुन्छ । गाउँमा घाँस प्रशस्त पाइने भएकाले थोरै लागतले पनि राम्रो उत्पादन लिन सकिने ढकालको भनाइ छ । ढकालले गाईका लागि टीओसेन्टी, स्टाइलो, नेपियो जातका घाँस लगाएका छन् । ढकालका अनुसार टीओसेन्टी घाँसमा १८ प्रतिशत, स्टाइलोमा २८ देखि ३० प्रतिशत र नेपियरमा २० प्रतिशतसम्म प्रोटिन पाइने भएकाले गाईले मनग्य दूध दिन्छ ।
















