काठमाडौं – प्रथम राष्ट्रिय बाघचाल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगिता प्रगतिवादी युवा समाज नेपालको आयोजनामा सम्पन्न भएको हो ।
काठमाडौंको बसुन्धारस्थित चन्द्रविन्दु स्कूलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन शुक्रबार वरिष्ठ खेलाडी वैकुण्ठ मानन्धरले गरेका थिए । उद्घाटन कार्यक्रममा मानन्धरले नेपालका मौलिक रैथाने खेल बाघचाल प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिँदै अन्य यस्तै खेलहरुको खोजी गरी मुलधारमा ल्याउनुपर्ने बताए ।
उनले भने, ‘बाघचाल जस्तै अन्य मौलिक खेलहरुलाई प्रवर्द्धन गर्न राज्यले पनि विशेष ध्यान दिनुपर्छ ।’ नेपालको सँस्कृतिसँग जोडिएका खेलहरुको प्रचारप्रसार गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । शुक्रबार प्रथम र दास्रो चरणका खेलहरु भएका थिए । शनिबार तेस्रो, चौथो र फाइनल खेल भएको हो ।
खेल २ उमेर समूहमा विभाजन गरिएको थियो । फाइनलमा उमेर समूह अन्तर्गत १८ वर्ष मुनिका रेहान मिया प्रथम भएका छन् । त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः विवश खकुराल र पासाङ तामाङ विजयी भएका छन् । १८ वर्ष माथि उमेर समूहमा सागर महर्जन प्रथम भएका छन् पानभाई पोडे र विष्णु थिङ क्रमशः दोस्रो तेस्रो भएका छन् ।
बाघचाल प्रतियोगितामा ११४ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ८ वर्ष उमेरदेखि ८४ वर्षसम्मका खेलाडीहरुको सहभागिता रहेको आयोजक प्रगतिवादी युवा समाज नेपालका सचिव समिर गौतमले बताए । उनले यो कार्यक्रमलाई आगामी वर्षहरुमा अझ भव्यताका साथ अगाडी बढाउने बताएका छन् ।
विजेतालाई प्रगतिवादी युवा समाजका अध्यक्ष प्रविण बस्नेतले नगद पुरस्कारसहित सम्मानपत्र वितरण गरेका छन् । उक्त अवसरमा १२ जना पूर्व राष्ट्रिय खेलाडी र बाघचालको कम्युटर गेम बनाउने रघुनाथ ढुङ्गेललाई सम्मान गरिएको छ ।
जरो किलो महाअभियानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले पूर्व खेलाडीलाई खादा ओडाई सम्मानपत्र प्रदान गरेका छन् । सम्मानित खेलाडीको तर्फबाट पूर्व राष्ट्रिय भलिबल खेलाडी भरत शाहले आफ्नो मन्तव्य राखेका थिए ।
उनले नेपालका पुराना खेलहरुलाई नेपाली आफैले जगेर्ना गर्नुपर्ने भन्दै खेलको महत्वलाई बुझेर लाग्नुपर्ने बताए । सम्मानित हुने अन्य खेलाडीमा विनोद कुमार दास, जीत बहादुर केसी, ममता चौधरी, सारादेवी तामाङ, आङ बाबु लामा लगायत रहेका छन् । सम्मानित हुने खेलाडीमध्ये दिपक महर्जन र दिपक बिष्टको अनुपस्थित भएका थिए ।