News Portal

सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन ! ४ राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?

हिमाली संचार संवाददाता
६३१ पटक

काठमाडौं : सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ ।

अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिने स्रोतले जनाएको छ । भारत र मलेसियाका लागि यसअघि राजदूत सिफारिस भए पनि निर्णय कार्यान्वयनमा ल्याइएको थिएन ।

विशेष गरी भारतमा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूत बनाउने निर्णयप्रति सत्तारुढ नेकपाका शीर्ष नेताले नै असहमति जनाएपछि प्रधानमन्त्री ओलीपछि हटेका थिए । मलेसियाका लागि नेकपाका नेता उदयराज पाण्डेको नाम सिफारिस भएको थियो । नीलकण्ठको नाममा विवाद भएपछि अब भारतको राजदूत कसलाई पठाउने भन्नेबारेमा अहिलेसम्म प्रधानमन्त्रीले संकेत दिएका छ्रैनन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार भारतको राजदूत बनाएर पठाउन योग्य व्यक्ति अहिलेसम्म भेटिएका छैनन् । कतिपयले पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डेको नाम चर्चा गरेका छन् ।

पाण्डे यसअघि ओली प्रधानमन्त्री हुँदा चीनको राजदूतमा सिफारिस भएका थिए । तर, ओली सरकार ढलेर प्रचण्ड नेतृत्वमा कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि सो सिफारिस रद्द गरिएको थियो । भारतको राजदूत कसलाई बनाउने भन्नेबारे शीर्ष तहमा अहिलेसम्म छलफल नभएको नेकपाका एक सचिवालय सदस्यले बताए ।

कतिपयले यसअघि सिफारिस भएका नीलकण्ठ उप्रेतीकै लागि वातावरण बनाइन लागेको आशंका पनि गरेका छन् । उप्रेतीमाथि भारतीय जनता पार्टीका महासचिव राम माधव अध्यक्ष रहेको इण्डिया फाउण्डेशनसँग निकट रहेको आरोप छ । यसबीचमा सोही संस्थाको कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड शुक्रबारै दिल्ली गएर फर्किएका थिए ।

त्यस्तै मलेसियाका लागि यसअघि सिफारिस भएकै उदयराज पाण्डेलाई राजदूत बनाइने सम्भावना छ । उनी एकपटक साउदी अरबको राजदूत भइसकेका अनुभवी हुन् । संयुक्त अरब इमिरेट्समा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई बनाउने तयारी मन्त्रालयको छ । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा मन्त्रालयका प्रवक्ता डा.भरतराज पौडेलको सम्भावना छ । सचिव शंकरदास बैरागी स्थायी प्रतिनिधिमा जान इच्छुक नदेखिएपछि बरिष्ठताको हिसाबले पौडेलको सम्भावना बढेको हो । बैरागीले भने सचिवको पूरा कार्यकाल मन्त्रालयमै बिताउने ईच्छा व्यक्त गरेका छन् ।

स्थायी प्रतिनिधिका लागि अन्य सहसचिवहरुले पनि लबिङ गरिरहेका छन् । सचिव नजाने भनेपछि दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईले पनि आफ्नो पक्षमा प्रधानमन्त्रीको सचिवालयमा लबिङ गरेका छन् । स्रोतका अनुसार शाही शासनकालका परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्ना छोरा निश्चलनाथ पाण्डेलाई राजदूत बनाइदिन पनि नेकपाका कतिपय नेतासँग लविङ गरिरहेका छन् । यसैबीच क्यानडा, दक्षिण अफ्रिका, थाइल्याण्ड, फ्रान्स, जेनेभा, कुबेत,थाइल्याण्ड र ब्राजिलमा पनि राजदूत नियुक्तिका लागि प्रक्रिया अघि बढाइने भएको छ । अब कूटनीतिक नियोगमा राजदूतको पदवाधि सकिनुअघि नै नयाँ नियुक्तिको प्रक्रिया थाल्ने मापदण्ड पारित भएकाले मन्त्रालयले यसबारेमा गृहकार्य थालेको स्रोतले जनाएको छ ।

यी सबै नियोगमा परराष्ट्रका कर्मचारी राजदूत छन् । उनीहरुको कार्यकाल पुसभित्रमा सबैको सकिँदैछ । अब ती नियोगमा राजदूत सिफारिस गर्दा नयाँ मापदण्ड अनुसार नै गरिने भएको छ । खाली हुने र फिर्ता हुने सबै नियोगमा एकैपटक परराष्ट्रसेवा र विज्ञबाट बराबरीका आधारमा सिफारिस गरिने भएको छ ।

यसका साथै इजराजल, स्पेन, जापान, बंगलादेश, दक्षिण कोरिया र कतारका राजदूतलाई फिर्ता बोलाउने सम्भावना छ । उनीहरुका ठाउँमा विज्ञताका आधारमा राजदूत सिफारिस गर्ने तयारी सरकारको छ । स्पेनमा भरतजंग रायमाझी, जापानमा प्रतिभा राणा, बंगलादेशमा डा.चोपलाल भुसाला, दक्षिण कोरियामा अर्जुनजंगबहादुर सिंह र कतारमा रमेश कोइराला कार्यरत छन् । उनीहरु कांग्रेस र राप्रपाको कोटाबाट राजदूत भएका थिए ।

कांग्रेस कोटाबाटै राजदूत भएका श्रीलंकाका डा.विश्वम्भर प्याकुरेल र ओमानकी शर्मिला पराजुलीलाई भने फिर्ता नगरिने भएको छ । पराजुलीले बालुवाटारमा बलियो पकड बनाएकाले उनलाई फिर्ता गर्न नसकिने परराष्ट्र स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...