आज : २०२६-०६-१४, आइतबार

युनिम्याक्स कन्सल्टेन्सीमा विभागको छापा

काठमाडौँ। वैदेशिक रोजगारीका लागि रोमानिया र माल्टा लगायतका देशमा कामदार पठाउन खोज्ने एक कन्सल्टेन्सीमा छापा मारेको छ। वैदेशिक रोजगार विभागको टोलीले सामाजिक सञ्जालमा गरिएको विज्ञापनको आधारमा छापा मारेको हो।

कलंकीस्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिमा विभागको टोलीले बिहीबार छापा मारेको हो। सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारका लागि भन्दै विज्ञापन गरिएको थियो।

सोही आधारमा छापा मारेर तीन थान ल्यापटप, २० थान स्क्यानिङ पासपोर्ट, तीन थान डिमान्ड लेटर लगायतका कागजात जफत गरिएको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए।

उनीहरूको साथबाट सङ्कलन गरिएका २० थान पासपोर्टसमेत नियन्त्रणमा लिइएको हो। सामाजिक सञ्जालमा गैरकानुनी रूपमा विज्ञापन प्रकाशन गरी ठुलो रकम असुली ती देशमा नेपाली कामदार पठाउने गरेको भन्ने उजुरीसमेत विभागमा परेको थियो।

उक्त कन्सल्टेन्सीहरूले टिकटक तथा फेसबुकको प्रयोग गरी गैरकानुनी रूपमा सूचना दिने गरेको र त्यही आधारमा लाखौं रुपैयाँ लिने गरेको पाइएको विभागले जनाएको छ। कन्सल्टेन्सीले कम्तीमा ५० हजारदेखि एक लाख अग्रिम असुल गरेकोसमेत पाइएको छ।

पछिल्लो समय कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगीका घटना बढ्दो क्रममा छन्। सामाजिक सञ्जालको प्रयोग गरी उनीहरूले लाखौं रुपैयाँ असुल गर्दै श्रमिकहरूमाथि ठगी गर्ने गरेको देखिन्छ।

विभागले त्यस्तो कार्य निरुत्साहित पार्नका लागि अनुगमनलाई तीव्रता दिने जनाएको छ। विभागले त्यसका लागि तीन वटा निर्देशकहरूको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरेको छ।