
धरान: धरान उपमहानगरपालिका धरान -१६ स्थित २३औं अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकपमा हिजो क्यामरुन एभेनियर फुटबल क्लब फाइनल प्रवेश गरेको छ ।
धरान -१६ स्थित क्षेत्रीय रंगशालामा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोलले पराजित गर्दै क्यामरुन फाइनल प्रवेश गरेको हो । क्यामरुनको जितमा पहिलो हाफको ४४ औं मिनेटमा टिम्बाले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको ४२ औं मिनेटमा एन्फा मोरङले आत्मघाती गोल गर्दा क्यामरुनले जीत सुनिश्चित गऱ्यो । मोरङका खेलाडी सुजन चौधरीले डिबक्सभित्र बल रोक्ने प्रयास गर्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए।
आयोजित खेलको म्यान आफ दि म्याच क्यामरुनका डिन घोषित भए । उनले नगद १० हजार प्राप्त गरे। क्यामरुनले शनिबार उपाधिको लागि काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासंग खेल्ने छ । झापाले बुधबार युनाइटेड कर्साङ फुटबल क्लब भारतलाई ३–१ ले हराउदै फाइनलका लागि प्रवेश गरेका थिए।
