
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा नेपाल प्रहरीले ठूलो मात्रामा लागूऔंषध बरामद गरेको छ। रंगेली नगरपालिक वडा नं. १ बबियाबाट गाँजा सहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।
बबिया घर भएका मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको संयुक्त टोलीले निजको घर खानतलासी गर्दा गाँजा फेला परेको हो।
प्रहरी १५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएकोगाँजा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशी सहित धनकुटाको शहीदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई समेत प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ। उनीहरु विरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ।
प्रहरीले गरेको प्राम्भीक अनुसन्धानबाट धनकुटादेखि राईले लागूऔषध गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। उनीहरू दुबै जना गाँजाको कारोबार एवं तस्करीमा संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान छ। धनकुटाबाट ल्याएर गाँजा भारत तिर लैजाने तयारी गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेका छन्।