काठमाडौं – राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे छ । ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिनुभएकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिएर अपराह्न २ बजेदेखि सर्वसाधारणलाई टीका लगाईदिनुभएको थियो । राष्ट्रपतिको हातबाट टीका लगाउन बृद्धबृद्धा, अशक्त समेत पुगेका थिए ।
यस्तै, प्रधानमन्त्री डा.केपी शर्मा ओलीले पनि टीका ग्रहण गरेसँगै सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थियाे । अपराह्न ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार सर्वसाधारणका लागि खु्ला गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि विभिन्न दलका नेता, शुभचिन्तक तथा सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे छ । निर्मल निवासमा टीका ग्रहण गर्नेहरुकाे लामै लाइन लागेकाे देखियाे ।
पूर्वराजाले गत वर्ष सर्वसाधारणलाई टीका लगाइदिनुभएकाे थिएन । यस वर्ष भने राजतन्त्रप्रति झुकाव राख्ने राजनैतिक व्यक्तित्वदेखि सर्वसाधारणसम्म पूर्वराजा-रानीकाे हातबाट टीका तथा जमरा ग्रहण गर्न निर्मल निवास पुगेका थिए ।
पूर्वराजा शाहले यस वर्ष विजयादशमीको दिन टीका थाप्न निर्मल निवास पुगेका सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि टीका जमरा लगाइदिनुभएकाे हाे । राप्रपाका अध्यक्ष कमल थापाले पनि सधैँझैँ यस सालकाे दशैँमा पनि पूर्वराजा-रानीबाट टीका ग्रहण गर्नुभएकाे छ ।
अपराह्न तीन बजेदेखि निर्मल निवासमा पूर्वराजा शाह र रानी कोमलले सर्वसाधारणलाई टीका लगाईदिनु भएकाे थियाे । टिका लगाउन निर्मल निवासमा सर्वसाधारणको घुइँचो लागेकाे थियाे ।